असोज २, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान दोष रहित भएको बताएका छन् । संविधान दिवसको पूर्व सन्ध्यामा संविधानविद् विपिन अधिकारी, कनक दिक्षित लगायतले तयार पारेको ‘नेपालको संविधानको व्याख्यात्मक पुस्तक’ को विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
लोकतान्त्रिक मूल्य मान्यताको दृष्टिमा नेपालको संविधान दोष रहित रहेको उनको भनाइ छ । ओलीले भने, ‘आवधिक निर्वाचन, जनताबाट आवधिक रुपमा अनुमोदन हुनुपर्ने, प्रत्यक्ष जनतामै पग्नुपर्ने, जनताले प्रतिनिधि छानेर एक अवधिका लागि आफ्नो अधिकार प्रत्यायोजित गर्दछ प्रतिनिधिहरूलाई । त्यो अधिकार प्रयोग गर्छन् र जनप्रतिनिधिहरुमार्फत अधिकारहरु प्रयोग हुन्छन् । यी कुराहरुको सन्दर्भमा यो संविधान दोषरहित छ ।’
व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका आ–आफ्नो ठाउँमा स्वतन्त्र र चेक एण्ड ब्यालेन्समा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसको समुचित उन्नत प्रवन्ध संविधानले गरेको बताए । तथापि, संविधान कार्यान्वयनका क्रममा नीतिगत वा संरचनागत रुपमा अपर्याप्त देखिएको खण्डमा संविधान संशोधनका लागि खुला दिमाग र बिना भड्काउ तयार रहनुपर्ने ओलीको भनाइ छ ।
स्थिरताको र स्थायित्वको नाममा संविधान अपरिवर्तनशिल नरहेको उल्लेख गर्दै उनले व्यवहारिक रूपमा समाजवादलाई अगाडि बढाउने सन्दर्भमा प्रणालीगत, संरचनात्मक, कानुनी अप्ठ्यारा वा कुनै ठाउँमा देश र जनताको आवश्यकता तथा औचित्यका आधारमा परिमार्जन गर्नुपर्ने अवस्था आउन सक्ने बताए । ‘त्यसका लागि हामी सबै खुला दिमाग राखेर बिना भड्काउ तयार रहनुपर्दछ,’ ओलीले भने ।
परिवर्तनको उपलब्धिलाई अगाडि बढाउनका लागि, न्याय समानता वा विकासलाई यथोचित ढङ्गले परिमार्जित गर्न संविधानमा संशोधन आवश्यक देखिए आफू तयार रहेको बताउँदै उनले भने, ‘त्यस्तो पर्यो भने संविधान असंशोधनीय दस्तावेज होइन । संशोधनीय चिज हो ।’
आदीबासी जनजाती, मधेश केन्द्रित शक्तिले संविधानले सबै वर्गको भावनालाई सम्बोधन गर्न नसकेको भनेर संशोधनको माग गर्दै आएका छन् । संविधानले सबैको अधिकारको सुनिश्चितता गरेको, मौलिक हकहरूको व्यवस्था गरेको, राजनीतिक, सांस्कृति, आर्थिक अधिकार प्रत्यायोजन गरेको उल्लेख गर्दै उनले नेपालको संविधान उत्कृष्ट रहेको धारण राखे ।
कोही जन्मँदै शासक हुने, कोही रैती हुने जस्तो व्यवस्थाको अन्त्य भएको उल्लेख गर्दै प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने र संविधानले तय गरेको समाजवादमा जाने आधार तयार गर्न सरकार लागिपरेको उनले बताए ।
संविधानले गरेका व्यवस्था कार्यान्वयनका निम्ति संरचना र कानून बनाउ तीन वर्ष खर्चिएको बताउँदै उनले अब सरकार संविधानलाई व्यवहारिक रुपमा कार्यान्वयनको चरणमा पुगेको बताए ।
‘हावा पानी भोजन भन्दा पहिलो कुरा सुरक्षा हो’
प्रधानमन्त्री ओलीले जैविक प्रवृतिभित्र मानवलाई हावा, पानी र भोजन भन्दा महत्वपूर्ण सुरक्षा भएको बताएका छन् । ‘कुनै चरालाई तपाईंले खाने कुरा दिनुभयो भने, भोक लागेको छ उसलाई, उसलाई खान मन छ तर, आउँछ, हेर्छ, बिचार गर्छ, सुरक्षित महसुस गर्यो भने खाना खान्छ । सुरक्षित महसुस गरेन भने भाग्छ ।’
नेपालको संविधानले नागरिकको सुरक्षाको मर्मलाई पनि सम्बोधन गरेको उनको भनाइ छ । नागरिकको सुरक्षित हुन पाउने र विकासमा समान अवसर प्राप्त गर्ने विषयलाई संविधानले सुरक्षित गरेको उनले उल्लेख गरे ।
अपहेलित नभएर सम्मानजनक जीवन जिउने आधार र अधिकार संविधानले दिएको भन्दै उनले यसको सही कार्यान्वयनका लागि सबै लाग्नुपर्नेमा जोड दिए ।







