असोज २, चितवन ।
जिल्लाको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना नाघिसकेको छ । पदाधिकारी अभावमा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ ।
विश्वविद्यालयको नेपाल राष्ट्रिय कर्मचारी संगठनले अढाइ महिना अघि तालाबन्दी गरेको हो । अस्थायी तथा करारका कर्मचारीले साउन १२ मा तालाबन्दी गरेका थिए । उनीहरूले केन्द्रीय कार्यालयका साथै कृषि र भेटेरिनरी संकायमा समेत तालाबन्दी गरेका छन् ।
संगठनका अध्यक्ष अचल शाक्यका अनुसार विश्वविद्यालय सामु २४ जना करारका कर्मचारीलाई स्थायी बनाउनुपर्ने र ८५ भन्दा बढी ज्यालादारी कर्मचारीलाई करार सहितका विभिन्न माग राख्दै तालाबन्दी गरिएको हो । हाल उपकुलपति रहेकी शारदा थपलियाले आफूहरूको माग पुरा गर्न चासो नदिँदा तालाबन्दी गर्नुपरेको उनको भनाइ छ ।
यता थपलियाले भने नियम अनुसारका माग नभएको बताएकी छिन् । वार्तामा बस्न आग्रह गर्दा पनि नआएको उनको भनाइ छ । अधिकांश पद निमित्तका भरमा रहेकाले पनि विवाद सिर्जना भएको हो ।







