असोज ३, काठमाडौं ।
प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले कोरोनाको विषम परिस्थितिमा समेत नयाँ अवसरको खोजी गरेर संविधान कार्यान्वयन गर्नुपर्ने दायित्व रहेको बताएका छन् । संविधान दिवसको अवसरमा शनिबार सर्वोच्चले जारी गरेको भिडियो सन्देशमा उनले यसो बताएका हुन् ।
विश्वव्यापी कोरोना महामारीले राज्यका सबै निकायले कठिन परिस्थितिको सामना गरिरहेको र स्वभाविक रूपमा न्यायालय पनि प्रभावित भएको उनले बताएका छन् । ‘यस प्रकारको विषम परिस्थितिमा नयाँ आशा, नयाँ क्षितिज र अवसरको खोजी गर्दै संविधानको कार्यान्वयन गर्नुपर्ने दायित्व हाम्रो सामु छ,’ सन्देशमा भनिएको छ ।
आम नागरिकको संविधान प्रदत्त अधिकार र न्यायको पहुँचमा समेत अहिले गाह्रो भइरहेको उनले सन्देशमा भनेका छन् । संविधान जारी गर्ने कार्यमा सम्मिलित सबैलाई उनले धन्यवाद ज्ञापन गरेका छन् । सबैको योगदान स्मरणीय रहेको सन्देशमा भनिएको छ ।
राणाले न्यायपालिकाको सुधारको विषयमा चासो राख्ने सबैलाई सन्देशमार्फत अदालत सुधारका लागि प्रयासहरू भइरहेको जनाएका छन् । साथै भरोसायोग्य न्यायप्रणालीको कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।







