नेकपा सचिवालय बैठक आज

असोज ४, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टिको सचिवालय बैठक आज बस्दै छ । यस अघि धुम्बाराहीस्थित पहिले एमालेको कार्यालयमा वा प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक यस पटक भने पूर्व माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ ।

प्रचण्डले ‘कार्यकारी’ को भूमिका पाएपछि यो पहिलो बैठक हो । यस अघि असोज २ मा बस्ने भनिए तापनि बैठक सरेर आइतबारका लागि तय भएको थियो । पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा सुरक्षित भौतिक दुरीसहित बैठकको व्यवस्था मिलाइएको उक्त दलले जनाएको छ ।

भदौ २६ मा नेकपाको स्थायी कमिटि बैठकले प्रधानमन्त्री समेत रहेका उक्त दलका एक अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कार्य विभाजन गरेको थियो । त्यसपछि आज बस्न लागेको बैठकमा मन्त्रीपरिषद्को पुनर्गठन, सांगठनिक एकताका बाँकी कार्य जस्ता विषयमा छलफल हुने बताइएको छ ।