सभामुखलाई एमालेको आग्रह – १४ जना सांसद निस्कासित भएको सूचना टास्न चाहनुहुन्न भने मार्गप्रशस्त गर्नुस्

पुस, ६ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटासामू दुई वटा विकल्प रहेको दोहो¥याएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफलबारे जानकारी दिँदै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखसमक्ष दुई वटा विकल्प रहेको आफुहरुले सम्झाएको बताए ।

‘तपाईंका सामुन्नेमा दुइटा विकल्प छन् । एउटा तपाईंले यथासिघ्र नेकपा एमालेले निस्कासन गरेका सांसदहरुको हकमा सूचना प्रकाशित गर्नुुस् । बिलम्ब भए पनि र गल्ति महसुस गर्नुस् । यदि त्यसो गर्न चाहनुहुन्न भने मार्गप्रशस्त गर्नुस’ सभामुखलाई गरेको आग्रह सुनाउँदै भट्टराईले भने ।

एमाले आफैँ अन्यायमा परेको उल्लेख गर्दै उनले थपे, ‘…एमाले आजीवन जनताको न्यायका लागि लड्यो । अब आफैँलाई अन्याय हुँदा नलड्ने कुरो भएन ।’ जबसम्म सभामुखले आफुहरुले दिएका दुई वटा विकल्पमध्ये एउटा रोज्नुहुन्न तबसम्म एमालेले संसद अवरोध गरिरहेको उनको भनाइ छ ।