ओमिक्रोनले अबको एक महिना कठिन पार्न सक्ने

४ माघ, काठमाडौं । नेपालले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट अबको एक महिना कठिन अवस्था झेल्नुपर्ने प्रक्षेपण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रक्षेपण अनुसार माघ दोस्रो साता दैनिक संक्रमण पुष्टि हुनेकोसंख्या उच्च हुनेछ । त्यो बेला दैनिक २० हजार हाराहारीमा संक्रमण पुष्टि हुनेसक्छ ।

यो समयमा लक्षण सहितको संक्रमित करिब १० हजार हुनेछन् भने १ हजार बढीलाई अस्पताल भर्ना गर्नुपर्ने हुनसक्छ । मन्त्रालयको प्रक्षेपण अनुसार अस्पतालमा सबैभन्दा बढी चाप माघ तेस्रो साता हुनेछ ।

त्यो बेला अस्पतालमा उपचाररत संक्रमितको संख्या झण्डै १४ हजारसम्म पुग्न सक्ने आकलन गरिएको इपिडिमियोलोजि तथा सरुवा रोग महाशाखाका प्रमुख ड. कृष्ण पौडेलले संसदको शिक्षा तथा स्वास्थ्य समितिलाई जानकारी दिएका हुन् ।

डा. पौडेलका अनुसार दोस्रो लहरमा भोगिएको अक्सिजन अभावलाई यो लहरमा दोहोरिन नदिन पनि मन्त्रालयले राम्रो तयारी गरेको छ ।

उनका अनुसार प्रदेश १ मा दैनिक कुल ४०८२, मधेस प्रदेशमा कुल ३७७८, वाग्मती प्रदेशमा कुल १२४२४, गण्डकी प्रदेशमा कुल २१२४, लुम्बिनी प्रदेशमा कुल ४३४०, कर्णाली प्रदेशमा कुल ३१२ र सुदूरपश्चिम प्रदेशमा कुल ४३६ सिलिण्डर अक्सिजन दैनिक उत्पादन हुने गरी क्षमता अभिवृद्धि गरिएको छ ।

यस्तै मन्त्रालयले नेपालका भारतसँग सीमा जोडिएका प्रदेशहरुमा भारतमा संक्रमण बढेसँगै संक्रमणमा वृद्धि देखिएको तथ्यांक पनि प्रस्तुत गरेको थियो । पुसको अन्तिम साता भारतमा कोरोना संक्रमितको संख्यामा बढोत्तरी भएसँगै नेपालमा पनि त्यसको असर देखिन सुरु गरेको हो ।