४ माघ, काठमाडौं । नेपाल पशु चिकित्सा परिषद्ले मापदण्ड पूरा नगरी विद्यार्थी भर्ना लिने महाबिद्यालयहरुका विद्यार्थीलाई लाइसेन्स परीक्षामा सहभागी हुन नमिल्ने चेतावनी दिएको छ। परिषद्ले सोमबार सार्वजनिक सूचना जारी गरेर परिषद्को मापदण्ड पूरा नगरी विद्यार्थी भर्ना प्रकृया अगाडी बढाएमा उक्त महाबिद्यालयबाट उत्तीर्ण विद्यार्थीलाई लाइसेन्स परीक्षामा समाबेश नगरिने बताएको छ।
न्यूनतम मापदण्ड र सर्तनामा पूरा नगरी नेपालमा पशु चिकित्सा तथा पशु पालन विषयमा स्नातक (बिभिएससी एन्ड एएच) कार्यक्रम सञ्चालन गर्ने विश्वविद्यालय तथा शिक्षण संस्थाहरूले विद्यार्थी भर्नाका लागि प्रक्रिया सुरु गरेकोतर्फ परिषद्को ध्यान केन्द्रित भएको सूचनामा उल्लेख छ।

पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत कीर्तिपुरमा रहेको हिकास्ट र चितवनमा रहेको नेपाल पोलिटेक्निक इन्स्टिच्युटले पशु चिकित्सा शास्त्रमा चौथो र पाँचौं वर्षको मापदण्ड पूरा नगरी पहिलो बर्षको प्रवेश परीक्षा र भर्ना प्रक्रिया अघि बढाएको थियो। गत बर्ष यी कलेजहरूको अनुगमनमा चौथो र पाँचौं वर्षमा विद्यार्थी पढाउन मापदण्ड पूरा नभएको देखिएकाले परिषदले पूर्ण स्वीकृति नदिइकन ससर्त भर्नाको प्रकृया दिएको थियो । दुवै कलेजले नयाँ शैक्षिक सत्र २०७८/ ७९ को लागी विद्यार्थी भर्ना गर्न पुष २१ गते बुधवार प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको थियो ।

त्यस्तै कृषि तथा वन विश्वविद्यालय रामपुर र त्रिभुवन विश्वविद्यालय अन्तर्गतका इन्स्टिच्युट अफ एग्रिकल्चर एन्ड एनिमल साइन्स कलेज पक्लिहवाले समेत मापदण्ड पूरा नगरी विद्यार्थी भर्ना लिने परीक्षाको तालिका सार्वजनिक गर्ने तयारीमा रहेको पाईएको छ। नेपालमा हालसम्म यी चार कलेजले पशु चिकित्सा शिक्षाको पठनपाठन गराउँदै आएतापनी कसैले पनि नेपाल पशु चिकित्सा परिषद्ले तोकेको मापदण्ड पूरा गरी पूर्ण मान्यता भने पाएको छैन ।
हालसम्म नेपाल पशु चिकित्सा परिषद्मा दर्ता भएका देशभरि कुल १ हजार ५ सय २६ पशु चिकित्सक कार्यरत छन्। परिषद्ले वर्षमा तीनपटक लाइसेन्स परीक्षा सञ्चालन गर्छ। पशु चिकित्सा शिक्षाको पाँच वर्षे कोर्स पूरा भएपछि इन्टर्नसिप र काम गर्न परिषद्बाट डाक्टरी परीक्षा पास गरे मात्र लाइसेन्स प्राप्त हुन्छ।







