हत्यामा संलग्न फरार व्यक्ति २७ वर्षपछि पक्राउ

७ माघ, रोल्पा । मानव हत्यामा संलग्न रही फरार रहेका यहाँका एक व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् ।

परिवर्तन गाउँपालिका–६ का गनबहादुर कामी २७ वर्षपछि पक्राउ परेका हुन् । कामी विसं २०५१ भदौ २१ गते साविक तालावाङ गाविस–७ हाल माडी गाउँपालिका–३ खारावाङका चुनवहादुर घर्तीको हत्या गरी फरार रहेका थिए ।

गाउँको जग्गा साँध सिमानासम्बन्धी भएको विवादमा रिसइवी लिई कामीले घर्तीको हत्या गरेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालतको विसं २०७० वैशाख ९ गतेको फैसलाले २० वर्ष कैद सुनाएको थियो । अदालतको फैसलापछि पनि उनी फरार रहेका थिए ।

फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्ण रानाले जानकारी दिनुभयो ।