बागमती प्रदेश सरकारले ‘एक वडा, एक पशु स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन गर्ने

८ माघ, काठमाडौं । बागमती प्रदेश सरकारले ‘एक वडा, एक पशु स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

स्थानीय तहको वडासम्मै प्राविधिक सेवा विस्तार गर्ने उद्देश्यले ‘एक वडा, एक पशु स्वास्थ्यकर्मी’ कार्यक्रम कार्यान्वयनमा ल्याउन लागिएको प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।

पशुपन्छी तथा मत्स्यमा लाग्ने रोगहरूको अन्वेषण, नियन्त्रण, रोकथाम तथा उन्मूलनका लागि प्रदेश सरकारले ‘एक वडा, एक पशु स्वास्थ्यकर्मी’ कार्यक्रम अघि सारेको मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले जानकारी दिए ।

प्रदेश सरकारको साझा न्यूनतम कार्यक्रममा समेटिएको ‘एक वडा, एक पशु स्वास्थ्यकर्मी’ कार्यक्रमलाई मन्त्रालयले आफ्नो मार्गचित्रमा पनि समावेश गरिसकेको छ । कृषि तथा पशुपन्छीमन्त्री बसुन्धरा हुमागाईंले पनि कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रको रुपान्तरणको लागि भन्दै ५१बुँदे मार्गचित्र सार्वजनिक गरेका थिए । ‘एक वडा, एक पशु स्वास्थ्य क्लिनिक’ स्थापनाका लागि लागिरहेको मन्त्रालयले अब ‘एक वडा, एक पशु स्वास्थ्यकर्मी’ कार्यक्रम पनि सञ्चालन गर्ने भएको हो ।

मार्गचित्रमा ‘एक वडा, एक पशु स्वास्थ्यकर्मी’ कार्यक्रमसहित चारवटा विषय थप गरिएको मन्त्रालयले जनाएको छ । गठबन्धन सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री राजेन्द्र पाण्डेले साझा न्यूनतम कार्यक्रममा समेट्दै यसलाई छिट्टै कार्यान्वयनमा लैजान निर्देशन दिइसकेका छन् । 

मार्गचित्रमा पशु स्वास्थ तथा क्लिनिकल सेवालाई विस्तार गर्न स्थानीय तहसँगको समन्वयमा ‘एक वडा एक पशु स्वास्थ्य क्लिनिक’ सञ्चालनमा जोड दिइएको हो । नेपाल सरकारले पशु स्वास्थ्य सेवालाई अत्यावश्यक सेवाका रुपमा घोषणा गरेको सन्दर्भमा प्रदेश सरकार एक वडा एक पशु स्वास्थ्य क्लिनिक स्थापनामा लागेको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले बताए ।

ग्रामिण क्षेत्रमा पशु सेवा प्रदायक र कृषकबीचको दूरी कम गर्दै पशुपन्छी क्षेत्रको विकासका लागि ‘एक वडा, एक पशु स्वास्थ्यकर्मी’ र पशु क्लिनिक कार्यक्रम ल्याइएको मन्त्रालयले जनाएको छ । स्थानीय तहको वडासम्मै पशु सेवालाई सहज, सरल, पहुँचयोग्य बनाई छिटोछरितो र गुणस्तरीय सेवा प्रदान गर्न कार्यक्रम ल्याइएको मन्त्रालयका सचिव पाण्डेले जानकारी दिए ।

कार्यक्रमबाट व्यवसायिक पशुपन्छीपालनका आधुनिक प्रविधिमा कृषकको पहुँच पुग्नुका साथै पशुमा लाग्ने रोगहरूको न्यूनीकरण र निराकरण गर्न सहज हुने सचिव पाण्डेले बताए । मन्त्रालयले ‘एक वडा एक पशु स्वास्थ्य क्लिनिक’ स्थापनाका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी वडा प्रस्ताव गर्न आफ्ना मातहतका कार्यालयलाई परिपत्र गरिसकेको जनाएको छ ।