स्वदेश फर्किए वर्षमान पुन: “महासचिवमा स्वाभाविक दाबी”

१० माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा उपचार गरेर स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले स्वागत गरेका छन् । लामो उपचार पछि सोमबार स्वदेश फर्किएका पूर्वमन्त्री अनन्तले महासचिवमा आफ्नो दावेदारी स्वभाविक रकेको सञ्चारकर्मीसँग बताए ।

उनी सोमबार साँझ ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेका थिए । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बंगाणुगत जण्डिस रोगबाट ग्रसित पुन पुसर २० गते मंगलबार अपराह्न सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज भएका हुन्।

२२ गते फेरी अस्पताल पुगेका उनलाई चिकित्सकहरुले राम्रो सुधार भएको भन्दै केही दिन आराम गर्न सुझाव दिएका थिए । त्यसपछि केही समय चीनमै बसेर फलोअप गएका नेता पुन पुरै निको भएर नेपाल फर्केका हुन् । 

नेता पुनको चीन थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा ३९ दिन र बैंककमा ५९ दिन लामो उपचार भएको थियो । लामो समय बस्दा पनि बैंककमा सुधार नभएपछि थप उपचारका लागि पुनलाई चीन सरकारको समेत सहयोगमा सेनजेन लगिएको थियो ।   

बंगाणुगत तथा विश्वमा विरलै देखिने जण्डिस रोगका कारण झण्डै साँढे ३ महिनादेखि उपचार गराइरहेका नेता पुन जण्डिस दोहोरिएपछि असोज १३ गते बैंकक तर्फ लागेका थिए ।  नेपालमा हुँदा उनको ललितपुरस्थित सुमेरू अस्पतालमा उपचार गरिएको थियो ।