१९ माघ, काठमाडौं । प्रहरीले नक्कली पिसिआर रिपोर्ट बनाउने नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल र कान्तिपुर अस्पतालका ४ जना कर्मचारी तथा बिचौलियालाई प्रक्राउ गरी त्यहाँ सन्चालानमा भएको पिसिआर ल्याब बन्द गरिएको छ । प्रक्राउ पर्नेमा भक्तपुर कौशलटार बस्ने नागरिक हस्पिटलका ल्याब प्रवन्धक २४ वर्षमा प्रसन्नकुमार झासहित ललितपुर ग्वार्को बस्ने २५ वर्षका रोसन कुमार छिट्टान, भक्तपुर सुर्यबिनायक न.पा.वडा नं.५ सल्लाघारी बस्ने बर्ष २९ वर्षका माधव मैनाली र गौशाला बस्ने २५ वर्षका नागेन्द्र यादव रहेका छन् । उनीहरुलाई माघ १८ गते प्रहरीले प्रक्राउ गरेको हो ।
भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेड र काठमाण्डौ तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिले बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरुलाई नक्कली पिसिआर रिपोर्ट दिने बनाउने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
अस्पतालका ल्याबहरुले कतिपय व्यक्तिको स्वाब र परीक्षण बिनै नेगेटिभ पिसिआर रिपोर्ट दिने गरेको, ल्याबहरुमा कार्यरत भनिएका बिशेषज्ञ चिकित्सकले रिपोर्टनै नहेरी आफ्नो डिजिटल सिग्नेचर प्रयोग गरि रिपोर्ट दिने गरेको, तथा पिसिआर रिपोर्टको मितिसमेत तलमाथि गरी रिपोर्ट दिने गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
साथै क्यूआर कोडबाट हेर्ने मिल्ने गरी सक्कली जस्तै रिपोर्ट बनाउने गरेको पाईएको छ । उनीहरुका साथबाट पिसिआर रिपोर्ट जेनेरेट गर्न प्रयोग भएको कम्प्यूटर मोनिटर र ल्यापटप १ / १ थान र सिपियु ३ थान, पिसिआर दर्ता रजिष्टार, नक्कली पिसिआर रिपोर्ट, रसिद र ५ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भक्तपुर दुवाकोट बस्ने नागरिक कम्युनिटी अस्पतालको पिसिआर सञ्चालक ४० वर्षका भावेश मिश्र र कान्तिपुर अस्पताल प्रा.लिको पिसिआर ल्याब सञ्चालक ४० वर्षका निर्मल गिरी फरार रहेका छन् ।
सरकारले तोकेको भन्दा अत्याधिक बढी रकम लिई स्वाबको नमुना समेत नलिई नक्कली पिसिआर रिपोर्ट बनाईदिने गरेको भन्ने बिशेष सूचना प्रहरीले पाएको थियो ।






