सभामुखले चाहेको खण्डमा ३६ जना सांसदले एमसीसी पास गर्न सक्छन्

२१ माघ, काठमाडौं । सभामुख अग्नि सापकोटाले चाहेको खण्डमा एमसीसीे सम्झौता ३६ जना सांसदले पास गर्न सक्नेछन् । हाल प्रतिनिधिसभामा २७१ जना सांसद छन । प्रतिनिधिसभाको बैठक बस्नका लागि २७१ को एक चौथाइ अर्थात् ६९ सांसद उपस्थिति हुनुपर्छ ।

बैठकमा उपस्थित ६९ सांसदले एमसीसी पास गर्ने वा नगर्ने निर्णय गर्न सक्छन् । अर्थात, ६९ को बहुमत अर्थात् ३६ सांसद पक्षमा उभिए भने एमसीसी सम्झौता पास हुनेछ । तर, यसका लागि सभामुख तयार हुनुपर्छ । सभामुखले एमसीसीलाई संसदमा टेबुल गर्न तयार भएको खण्डमा ३६ जना सांसदले पनि एमसीसी पास गर्न सक्ने देखिएको हो । तर, यसको संवैधानिक र कानुनी ब्याख्या भने हुन बाँकी छ ।

संविधानको धारा २७९ अन्तर्गत विभिन्न प्रकृतिका सन्धि–सम्झौताको व्यवस्था छ । र उक्त व्यवस्था अनुसार एमसीसी कुन प्रकृतिको सम्झौता हो भन्ने खुलाउन आवश्यक छ ।

संविधानको धारा २७९ को उपधारा (२) मा संसद्बाट अनुमोदन हुने सन्धि वा सम्झौता चार प्रकृतिमा हुने उल्लेख छ । (क) शान्ति तथा मैत्री, (ख) सुरक्षा एवं सामरिक सम्बन्ध, (ग) नेपाल राज्यको सिमाना (घ) प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँटसम्बन्धी सन्धि–सम्झौता । यी संसद्को दुई तिहाइबाट र सामान्य बहुमतबाट पनि अनुमोदन हुन्छ । (क) शान्ति तथा मैत्री र (घ) प्राकृतिक स्रोतको उपयोग र बाँडफाँटसम्बन्धी सन्धि–सम्झौताले राष्ट्रलाई व्यापक, गम्भीर वा दीर्घकालीन असर नपर्ने भएमा भने प्रतिनिधिसभाको बैठकमा उपस्थित सदस्यको साधारण बहुमतबाट हुन सक्ने व्यवस्था छ ।

यस्तै, एमसीसी चारमध्ये कुन प्रकृतिको सन्धि वा सम्झौता हो र त्यसलाई कुन विधिबाट अनुमोदन गराउनुपर्छ भन्नेमा सभामुख स्पष्ट छन ।