३ फागुन, काठमाडौं । साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ । २०२६ सालको मदन पुरस्कार विजेता शर्मा डिमेन्सिया (बिर्सने रोग), उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए।
शर्माको मंगलबार बिहान घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दा लगायत कृति चर्चित छन् । उनको शवलाई अपरान्ह घरबाट प्रतिष्ठानमा नल्याई सिधै पशुपति आर्यघाट लैजाने कार्यक्रम रहेको छ ।
शर्माको निधनप्रति मदन पुरस्कार गुठीले पनि श्रद्धाञ्जली अर्पण गरेको छ ।







