एक महिनादेखि पशु सेवा विभाग नेतृत्व विहिन, को-को छन् आकांक्षी ?

६ फागुन, काठमाडौँ । करिब एक महिनादेखि पशु सेवा विभाग नेतृत्व विहिन बनेको छ । महानिर्देशक डा. दमयन्ती श्रेष्ठको माघ १० गते अनिवार्य अवकाश पाएपछि विभाग विहिन बनेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालसम्म पनि पशु सेवा विभागमा महानिेर्देशक तोक्न सकेको छैन।

सुशासन (व्यवस्थापन तथा सञ्चालन) एन २०६४ ले कुनै पनि पद रिक्त हुनु भन्दा १५ दिन अगाडि नै प्रमुख तोक्ने व्यवस्था गरे पनि करिब एक महिना विभाग रिक्त हुदा समेत महानिर्देशकको पदपूर्ति मन्त्रालयलले गर्न सकेको छैन ।

हाल महानिर्देशकका प्रमुख दावेदार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. सम्झना कुमारी काप्ले रहेकी छिन। उनी हाल पशु सेवा तर्फ रहेका सहसचिवहरु मध्ये वरिष्ठ हुन् । यसअघि पशु सेवा विभागको क्वारेन्टाइन महाशाखाको उपमहानिर्देशकसमेत भएर काम गरिसकेकी डा. काफ्ले पशु स्वास्थ्य क्षेत्रको विशेष जानकार हुन्।

यस्तै अर्का महानिर्देशकका आकांक्षिका रुपमा देखिएका सहसचिव डा. उमेश दाहाल पनि रहेका छन। २०७३ मा सहसचिव भएका डा. दाहाल हाल नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजनाका आयोजना निर्देशक भई काम गरिरहेका छन् । उनी डा. काफ्ले भन्दा कनिष्ठ सहसचिव भए पनि आफूलाई बलियो दाबेदारका रुपमा उभ्याएका छन्।

पशु सेवा विभागमा हालसम्म महानिर्देशकमा नियुक्ती गर्दा जेष्ठतालाई नै आधार मानेर नियुक्ती गर्ने गरिएको हो । यस पटक नियुक्तीमा भएको ढीलाइका कारण को महानिर्देशक हुन्छन् भन्ने विषय निश्चित नभएको मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ।