९ फागुन, काठमाडौं । एमसीसीमा प्रमुख विपक्षी नेकपा एमालेलाई मुछ्ने प्रयास भएको छ । आइतबार संसदमा टेबुल गर्दै गर्दा नै सरकारले यस्तो प्रयास गरेको देखियो ।
संचारमन्त्री कार्कीले एमसीसी टेबुल गर्दै गर्दा कहिले– कहिले, कस कसको नेतृत्वको सरकारले के– के गर्यो भन्ने विवरण दिँदै यस्तो प्रयास गरेका हुन् । उसो त उनले बिभिन्न सरकारको पालामा अगाडि बढ्दै आएको भनी सत्तारुढ माओवादी केन्द्रका सांसदहरुलाई नैतिकताको पाठ पढाउन खोजे ।
‘नेपालको संविधानको धारा २७९ बमोजिम प्रतिनिधि सभाको साधारण बहुमतबाट सम्झौता अनुमोदन गर्नका लागि तत्कालीन अर्थ मन्त्री डा. युवराज खतिवडाले सम्मानित संसदसमक्ष प्रस्ताव पेश गर्नुभएको माननीय सदस्यहरूलाई विदितै हुनुपर्दछ’ भनेर उनले सुरुमै एमाले नेतृत्वको सरकारलाई सम्झिए । यहि कुरा कांग्रेस सांसदहरुले बारम्बार बताउँदै आएका छन् ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा एमसीसी संसदमा पेश गर्ने प्रयास भएको थियो । तर, तत्कालिन नेकपा भित्रको अन्तरविरोधका कारण सफल हुन सकेको थिएन ।
तत्कालिन सरकारले २०७५÷१०÷२५ मा नेपाल सरकार र अमेरिकी सहयोग निकाय बीच भएको अनुदान सहायता सम्झौता एमसीसीलाई अनुमोदन गर्नका लागि संघीय संसदमा पेश गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको पनि मन्त्री कार्कीले संसदमा सुनाए । सरकार अविच्छिन्न उत्तराधिकारवाला संस्थाको रूपमा रहने भएकोले विगतमा भएका निर्णयको पालना वर्तमान सरकारले गरेको र एमसीसीलाई निष्कर्षमा पुरÞ्याउनुपर्ने दायित्व बहन गरेको उनको प्रष्टीकरण छ ।
एमसीसी अनुमोदन गर्दा नेपाललाई नै फाइदा हुने उनको भनाइ छ । सम्झौता बमोजिमका आयोजनाहरू निर्धारित मितिभित्रै सम्पन्न गर्न वृहत्तर राजनीतिक सहमति आवश्यक भएकोले जनप्रतिनिधिहरूबाट संवैधानिक व्यवस्था अनुरूप अनुमोदन गर्नका लागि संसदमा ल्याइएको उल्लेख गर्दै उनले थपे, ‘म सबै माननीय सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु र सबै माननीय सदस्यहरूलाई विकास परियोजनाबाट प्राप्त हुने लाभ समयमै प्राप्त गर्न सहयोग गर्न आग्रह गर्दछु ।’
कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूले पनि अब प्रश्न एमालेतिर सोझिएको बताए ।
‘अवरोध राख्नेहरुले के भन्छन् ? तिनको जवाफ पनि त खोजिराखेका छन जनताले’ मन्त्री बडूले थपे, ‘अव अवरोध कसरी गर्छन ? कसले के बोल्छ ? यसका पक्ष र विपक्षमा के अभिमत आउँछन । त्यस अनुसार एउटा निष्कर्ष आउँछ ।’
कांग्रेका महामन्त्री समेत रहेका सांसद गगन थापाले एमालेले एमसीसीमाथिको छलफलमा भाग लिइसकेको दाबी गरे । एमाले नेता भीम रावलले संसदमा बोलेको विषयतर्फ संकेत गर्दै उनले भने, ‘नारावाजीको बीचमा पनि छलफल हुन्छ भन्ने कुरा आज नारावाजी गर्नेहरुले नै छलफलमा भाग लिएर पुष्टी गरिसक्नुभयो’ थापाले भनेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको सरकार हुँदा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले आफैँ सरकारमा बसेर तयार गरेको प्रस्ताव शेरबहादुर देउवाको नेतृत्वको सरकारले अगाडि बढाएको पनि थापाको जिकिर छ ।
र अब एमसीसीबारे मतदान हुँदा सत्तागठबन्धन एकै ठाउँमा रहनुपर्ने उनको भनाइ छ । अन्यथा गठबन्धन तलमाथि हुन सक्ने त्रास थापाले देखाएका छन् । ‘..सरकारमा पनि बस्ने, सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्ने कुरा राजनीतिक नैतिकताको प्रश्न होला, जवाफदेहिताको प्रश्न पनि होला । त्यसकारण अब सबैले आफ्नो दोहोरो चरित्र छाड्नुपर्छ’ थापाले भनेका छन् ।







