श्रम सम्झौता नगरी खाडी मुलुकमा घरेलु कामदार नपठाउन आग्रह

५ असोज, काठमाडौं । खाडी मुलुकमा कार्यरत नेपाली राजदुतहरुले घरेलु कामदार नपठाउन सरकारको ध्यानाकर्षण गरेका छ ।

सोमबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा प्रविधिको प्रयोगमार्फत सहभागी भएका बिभिन्न देशका राजदुतले यस्तो आग्रह गरेका हुन ।

नेपालले २०७२ साल देखि खाडी मुलुकहरुमा घरेलु कामदारका रुपमा जान रोक लगाएको छ । तर, भारतको बाटो हुँँदै साउदी अरेबिया, ओमन, युएई लगायतका देशमा नेपालीहरु घरेलु कामदारका लागि गइरहेका छन् ।

सरकारले भारतको बाटो हुँदै जानेहरुलाई रोक्ने गरी काम गर्नुपर्ने कतारका लागि नेपाली राजदूत नारद भारद्वाजले बताए ।

‘भारतको बाटोल हुँदै आउँछन् । उनीहरु सामान्य समस्यामा पर्दा समेत सम्पर्कमा आउँदैनन् । साह्रै गाह्रो भएर गुहार गुहार भन्नुपर्ने अवस्थमा मात्रै फोन गर्छन’ भारद्वाजले भने ।

बार्षिक ४०÷५० जना घरेलु कामदारको उद्धार गरेर नेपाल पठाउने गरिएको जानकारी दिँदै उनले सीमा नाकामा कडाई गरेर अवैध रुपमा घरेलु कामदारमा जानेहरुलाई सरकारले रोक्न सक्नुपर्ने बताए ।

सरकारले कामदार पठाउँदा सीप सिकाएर, सुरक्षाको ज्ञारेण्टी गराएर र श्रम सम्झौता गरेर मात्रै कामदारलाई विदेश पठाउने गरी ठोस रुपमा कानुनी व्यवस्था समेत गर्न नसकेको उनको टिप्पणी छ ।

कुवेतका लागि नेपाली राजदुत दुर्गा प्रसाद भण्डारीले पनि अशिक्षित र सामान्य अंग्रेजी भाषा समेत नजान्नेहरु घरेलु कामदारका रुपमा अवैध बाटो भएर जाँदा साह्रै समस्या भएको बताए ।

शारिरिक, मानिसिक समस्या भोग्नुपर्ने, लामो समयसम्म काम गर्नुपर्ने, आफन्तहरुकोमा समेत गएर काम गरिदिनुपर्ने, परिवारसँग महिनामा एक् पटक समेत कुरा गर्न नपाउने जस्ता समस्या कुवेतमा रहेका नेपाली घरेलु कामदारहरुले भोग्नु परिरहेको उनको भनाई छ । यस्तो समस्यामा पर्नेहरुमा अवैध बाटो भएर जानेहरु नै रहेको उनले बताए ।

बहराईनका लागि नेपाली राजदुत पदम सुन्दासले ‘गाँसको सिलिण्डर नै नदेखेकाहरु’ समेत घरेलु कामदारका रुपमा जाने गरेको भन्दै सीप र क्षमताकै कारण नेपालीहरुले दुख पाइरहेको बताए ।

उनले पनि सीप र क्षमता परीक्षण गरेर र श्रम सम्झौता गरेर मात्रै नेपालीहरुलाई घरेलु कामदारका रुपमा पठाउने गरी कानुनी र नीतिगत कार्यहरु गर्न सरकारलाई आग्रह गरे ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पछिल्लो समय खाडी मुलुकमा रहेका नेपालीहरुको समस्याको बारेमा छलफल गरिरहेको छ । समिति आफैँ पनि खाडी मुलुकमा रहेका नेपालीहरुको समस्या बुझ्न स्थलगत अध्ययनमा गएको थियो । सोही अध्ययनका आधारमा समितिले सरोकारवालाहरुसँगको छलफललाई निरन्तरता दिएको हो ।

सरोकारवाला र सरकारपक्षसँग छलफल गरेर समिति निचोडमा पुग्ने समिति सभापति विमल श्रीवास्तवले जानकारी दिएका छन् ।