असोज ६, स्याङ्जा ।
हाडनाता करणीमा अदालतले सजाय सुनाएको व्यक्ति पक्राउ परेका छन् । आइतबार ६२ वर्षिय कर्णबहादुर मह भनिने कर्णबहादुर भट्ट क्षेत्री तनहुँबाट पक्राउ परेका हुन् ।
आफ्नी कान्छी आमालाई बलात्कार गरेको आरोपमा उनलाई स्याङ्जा जिल्ला अदालतले दुई वर्ष दुई महिना कैद सजाय सुनाएको थियो । त्यस अघि नै उनी आफूविरुद्ध कानूनी कारवाही हुने थाहा पाएपछि विभिन्न स्थानमा लुकेर बस्दै आएका थिए । ठाउँ सर्दै उनी तनहुँको भिमाद प्रहरी चौकीका अगाडि बस्न पुगेका हुन् ।
घटनाको लामो समय बितेपछि उनको सोधीखोजी भएन । तर जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फरार अभियुक्त पक्राउ गर्ने अभियान चलाएपछि उनी २३ वर्षपछि पक्राउ परे । उनलाई सजायका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।







