असोज ६, काठमाडौं ।
भाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान (कोभ्याक्स)मा १ सय ५६ देशले सहभागी हुने निर्णय गरिसकेका छन् । तर विश्व महाशक्ति दुई ठूला राष्ट्र, अमेरिका र चीन भने यसमा सहभागी नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
विश्वका अधिकांश धनी देश यसमा सहभागी भए पनि यी दुई देश अझै सामेल भएका छैन् । यद्यपि यस अभियानका लागि पर्याप्त स्रोत नजुटिसकेको बताइएको छ । विश्वभरका दुई तीहाइ जनसंख्याको प्रतिनिधित्व गर्ने ती डेढ सय बढी राष्ट्रहरूले कोभ्याक्समा सहभागिता जनाएका हुन् । यस सुविधाले गरिब राष्ट्रहरूलाई खोप वितरणमा सहजिकरण गरिदिनेछ ।
अर्को वर्षको अन्त्यसम्म यस सुविधाअन्तर्गत झन्डै दुई अर्ब खोप उपलब्ध गराइने लक्ष्य लिइएको छ । यसमा सामेल मुलुकका स्वास्थ्यकर्मी, वृद्धवृद्धा तथा दीर्घरोगीलाई खोपको प्राथमिकतामा राखिनेछ ।
(एजेन्सी)






