होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा खटाइयो १३०० ट्राफिक प्रहरी

३ चैत्र, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाका तीनै जिल्लामा १३०० ट्राफिक प्रहरी खटाई कडा व्यवस्थापन गरिएको छ।

विशेष गरी मोटरसाइकलमाथि कडा निगरानी गरिएको छ। होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी थप जनशक्ति परिचालन गरेको छ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले सबै ट्राफिक एकाइका प्रमुखलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिनुका साथै खटिने प्रहरी कर्मचारीलाई बुधवार व्रिफिङसमेत गरेका छन्।

बिहीबार बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा दुई वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको छ।

उच्छ्रिङ्खल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति तथा मादक पदार्थ सेवन गरी गाडी चलाउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा बढी मान्छे राख्ने, सवारी साधनको प्रयोग गरी महिलालाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ।

महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको छ भने बिहानैदेखि मापसे परीक्षण कडाइका साथ सुरु गरेको छ।