क्रिप्टोकरेन्सीसम्बन्धी विज्ञापनमा फोटो देखिएपछि अभिनेत्री प्रियंका कार्की सिआइबीको सोधपुछमा

६ चैत, काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले क्रिप्टोकरेन्सीसम्बन्धी विज्ञापनमा फोटो देखिएपछि अभिनेत्री प्रियंका कार्कीलाई अनुसन्धानका लागि बोलाएको छ।

सामाजिक सञ्जालमा प्रयोग भएको एक फोटोमा प्रियंकाले क्रिप्टोलाई प्रमोसन गर्ने हिसाबले पोस्ट भएको देखिएपछि उनी अनुसन्धानमा तानिएकी हुन्। उनी आफैँले बनाएर पोस्ट भएको हो वा अन्य मानिसले नै बनाए पोस्ट गरेको भन्ने बुझ्नको लागि उनलाई प्रहरीमा बोलाइएको हो।

‘अहिले सोधपुछ भइरहेको छ। के भएको हो भन्ने बुझ्दै छौँ,’ एक प्रहरी अधिकृतले भने।

‘मेरो फोटो प्रयोग गरेर क्रिप्टोकरेन्सीको एड बनाएको रहेछ। त्यसबारे छानबिन गर्न सघाउन उहाँहरूले मलाई बोलाउनु भएको हो ,’ कार्कीले भनिन् ।

यस्तो गतिविधि गरेको पुष्टि भएमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९६ अनुसार दण्ड सजाय हुनेछ। कसूर गर्ने व्यक्तिलाई उक्त कसूरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय र बिगो कायम गर्न नसकिने अवस्थामा कसूरको मात्रा हेरी बढीमा दश लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।