८ चैत्र, काठमाडौं । अभिनेता पल शाहमाथि बालिका बलात्कारको अभियोगमा १४ वर्ष कैद सजायको मागदाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार वारदातको समयमा पीडित बालिकाको उमेर १६ वर्षभन्दा कम रहेको कारण पलमाथि १२ देखि १४ वर्ष कैद सजाय र मनासिब क्षतिपूर्तिको मागदाबी गर्दै मुद्दा दर्ता भएको हो ।
अभिनेता पल शाहसँगै उनका म्यानेजर कृष्ण जोशीमाथि पनि सजायको मागदाबी गर्दै मुद्दा दर्ता गरिएको छ । जोशीले बालिका बलात्कार प्रकरणमा मतियारको भूमिका खेलेको भन्दै उनलाई पलमाथि हुने सजायको आधा सजाय मागदाबी गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको हो ।
गत फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा करणीसम्बन्धी कसुरमा अभिनेता पल शाहविरुद्ध उजुरी दर्ता भएको थियो । तनहुँ शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडा स्थित प्रदीप थापाको घर कोठामा अन्तिम पटक कसुर भएकाले तनहुँ पुगेर उजुरी दर्ता गरिएको थियो । त्यसपछि शाह फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका थिए ।
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।







