असोज ७, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा समेटिएको नयाँ नक्सा वितरण नगर्न निर्देशन दिएका छन् । पाठ्यक्रम विकास केन्द्रले तयार गरेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक पुस्तक वितरणमा रोक लगाइएको हो ।
एक मन्त्रीका अनुसार गत विहीबारको मन्त्रीपरिषद् बैठकमा उनले सो पुस्तक वितरण नगर्न निर्देशन दिएका थिए । विज्ञ तथा सरोकारवालालाई लक्षित गरी पाँच सय प्रति पुस्तक छपाइएको केन्द्रको भनाइ छ ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार पुस्तकमा तथ्यगत त्रुटी भएका कारण तत्काल वितरणमा रोक लगाउन भनिएको हो । उनका अनुसार भारतसँग वार्ताको माहोल बिग्रिन नदिन प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।
नाबी, कुटी, गुञ्जी लगायतका क्षेत्र समेटिएको पुस्तकमा नेपालको क्षेत्रफल एक लाख ४७ हजार ६ सय ४१.२८ वर्ग किलोमिटर उल्लेख छ । जेठ २ मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा नयाँ नक्सा सार्वजनिक गर्ने बताएको थियो ।
जेठ ३१ मा संघीय संसदबाट दुई तिहाइभन्दा बढी मतले नक्सा पास भयो । तर हालसम्म औपचरिक रूपमा भारतसँग यस विषयमा संवाद हुन सकेको छैन ।
परराष्ट्र र भूमि मन्त्रालय पनि विपक्षमा
प्रधानमन्त्री ओली मात्र नभइ भूमि र पराराष्ट्र मन्त्रालयका सरकारी अधिकारी पनि नयाँ नक्सासहितको पुस्तक निकाल्ने कुरामा सहमत छैनन् । यसरी पुस्तक निकालेर वितरण गर्न नहुने उनीहरू बताउँछन् ।
सरकारले नयाँ नक्सा निकाले पनि उक्त क्षेत्र औपचारिक रूपमा नेपालमा आइसकेको छैन । यसले विद्यार्थीहरूमा गलत छाप पर्ने र अपुरो जानकारी प्रवाह हुने उनीहरूको विचार छ ।
उक्त पुस्तकमा कुटनीतिक भाषाको प्रयोग नगरिएको परराष्ट्र मन्त्रालयका अधिकारी बताउँछन् । शिक्षा मन्त्रालयले यस्तो पुस्तक निकाल्दा भारतसँगको सम्बन्ध बिग्रने उनीहरूको तर्क छ ।
यो पाठ्यपुस्तक नभए पनि सन्दर्भ सामग्री भने हो । भदौ १९ मा राष्ट्रिय पाठ्यक्रम विकास विकास तथा मूल्यांकन परिषद्को बैठकले यसको छपाइको निर्णय गरेको थियो ।
उक्त पुस्तकमा नेपालका विभिन्न समयमा नक्सा समेटिएका छन् । त्यसमा नयाँ नक्सा समेत राखिएको छ । उक्त पुस्तकको पिडिएफ फाइल हेर्न यहाँ क्लिक गर्नुहोस् ।







