पशुपति धर्मशाला गेटमा बतास र सरकारी पक्षबीच भनाभन

२५ चैत्र, काठमाडौं । पशुपति परिसरमा रहेको धर्मशाला बतास समूहबाट खोस्न पत्रसहित गएको सरकारी टोलीलाई प्रवेशमा रोक लगाइएको छ ।

होटल व्यवस्थापन पक्षले पशुपति विकास कोषका कर्मचारी तथा सरकारी प्रतिनिधिलाई गेटमै रोकेका हुन् । उनीहरुलाई शुक्रबार धर्मशाला सञ्चालक पक्षले ‘अदालतको आदेश लिएर आउनू’ भन्दै प्रवेश नदिएको हो ।

हुलहुज्जत गर्दै मिडिया बोकेर आएको भन्दै कर्मचारीले भित्र अवलोकन गर्ने भए समय लिएर आउन भनेका थिए । त्यसक्रममा केहीबेर भनाभनसमेत भएको थियो ।

यसअघि पनि कोषका प्रतिनिधि धर्मशालामा जाँदा पत्र बुझ्न मानेको थिएनन् । स्थानीय जनप्रतिनिधि मुचुल्कामा सही गर्न नआएपछि उनीहरु फर्किएका थिए । आज पनि जनप्रतिनिधि खोज्दा कोही पनि सम्पर्कमा आउन चाहेनन् ।

सम्झौताअनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रालिसँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो ।