जनकपुरधामबाट अटोमेटिक पेस्तोलसहित दुई युवा पक्राउ

२९ चैत्र, जनकपुर । अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका–९ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३० बर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिसवा नगरपालिका–१ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने १९ वर्षीय लोटस भन्ने अभिषेककुमार सिंह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले हातहतियार बोकी ज७प ७९३२ नंको पल्सर मोटरसाइकलमा रामानन्द चोकबाट प्रादेशिक अस्पतालतर्फ गइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शरीर खानतलासी गर्दा सिंहको साथबाट एक थान अटोमेटिक पेस्तोल बरामद भएको जानकारी दिए ।

पक्राउ परेका दुवै जनामाथि हातहतियार खरखजना अन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।