१९ जेठ, काठमाडौं । भरतपुर विमानस्थल बिस्तार गरि प्रदेशस्तरको बनाइने भएको छ । यसका लागि नेपाली सेनाको गण र घोडा प्रजनन् केन्द्र स्थानान्तरण गरी ठूला जहाजसमेत अवतरण गर्न मिल्ने बनाउन लागिएको बताइएको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले गत बिहीबार संघीय संसदमा प्र्रस्तुत गर्नुभएकोे आगामी वर्षको बजेटमा सो विमानस्थलाई प्रदेशस्तरीय बनाइने उल्लेख छ । विमानस्थलको धावनमार्ग छोटो हुँदा र अतिक्रमण बढेपछि जहाज उडान र अवतरण निकै जोखिम पूर्ण बन्दै गएको थियो ।
महानगरपालिकाले सेनाको गण र सो केन्द्रका लागि वैकल्पिक स्थान दिइसकेको छ । महानगर प्रमुख रेनु दाहालले विमानस्थल बिस्तारको काम अघि बढेको बताउनुभयो । महानगरले सेनालाई चार वटा ठाउँ विकल्पका रुपमा दिएको छ । ठाउँको विस्तृत विवरणसमेत मन्त्रालयमा पठाइसकिएको छ ।
विस्तारसँगै रात्रिकालीन उडान, जहाज राख्ने र तेल भर्ने व्यवस्था यही हुनेछ । पर्यटनमन्त्री भट्टराईले यहीँबाट माउन्टेनसहितका विभिन्न जिल्लामा उडान गर्न सक्नेगरी विमानस्थल बिस्तार गर्ने जनाउँदै आउनुभएको छ ।
हाल यहाँबाट दिनको समयमा मात्र काठमाडौँ र पोखरा उडान हुँदै आएको छ । धावनमार्ग विस्तार गर्दै गर्दा अतिक्रमण गरी मापदण्ड मिचेर बनाइएका संचना भत्काएर व्यवस्थित गर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमको भनाइ छ ।
हाल प्रदेशस्तरका नेपालगञ्ज, विराटनगर, पोखरा र भौरहवा विमानस्थल छन् । त्यही स्तरको विमानस्थल भरतपुरमा बिस्तार गर्न लागिएको हो ।







