४ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमा–२ की अमृता खत्री टण्डन मर्नुअघि दोहोरो चेपुवामा परेकी थिइन् । मर्नुअघि उनले आफ्ना दाजुलाई पठाएको म्यासेजमा अमृता घर र माइतीको दोहोरो चेपुवामा परेको दखिएको छ ।
चैत ३० गते राति साढे ९ बजे अमृताले आफ्ना दाजु पुष्पक खत्रीको मोबाइलमा म्यासेज लेख्दै भनेकी थिइन्, ‘दाइ म मर्न चाहन्नँ, म यहाँ बस्न नि सक्दिनँ, म हजुरको बोझ नि हुन चाहन्नँ, प्लिज दाइ मलाई यहाँबाट निकाल्न सहयोग गर्नु ।’
बहिनीको म्यासेज मोबाइलमा हेरेपछि दाजु पुष्पकले केही हुन लागेको हो कि भन्ने अड्कल काटे । तर, उनले बहिनीलाई माइत बोलाएनन् । किनकि बहिनी अमृता माइतबाट सोही दिन घटना घट्नुभन्दा आधा घण्टा पहिले नै घर पुगेकी थिइन् । उनको घर र माइतीबीचको दूरी करिब चार सय मिटर टाढा छ ।
तिलोत्तमा नगरपालिका- २ जानकीनगरस्थित वरपिपल पथमा रहेको माइतीबाट अमृता करिब साढे आठ बजेतिर भेटेनरी लाइनस्थित आफ्नो घर गएकी थिइन् । अमृता माइतमा रहेको बेला श्रीमानले फोन गरे । पहिलो र दोस्रो फोन उनले उठाइनन् ।
तेस्रो पटक फोन आएपछि उनले फोन उठाउँदै मलाई टाउको दुःखेको छ, माइतै बस्छु भनेकी थिइन् । अमृताका दाजु पुष्पक भन्छन्, ‘तर श्रीमानले अलि बढी नै प्रेसर गरेपछि बहिनी घर गएकी हो ।’
अमृताले आफ्नो घर पुगेपछि दाजु पुष्पकको मोबाइलमा राति ९ बजेर १४ मिनेटमा म्यासेज पठाएकी थिइन् । ‘माइतीले भन्छन् तेरो घर जा, घरकाले भन्छन् तेरो माइती जा । चेलीको जिन्दगी पनि कस्तो घर न घाटको, अब त्यो चेली कहाँ जाने ? माइतीलाई इज्जत प्यारो भयो, बिहे गरेर गएकी चेलीलाई घरकाले टिक्न न दिने चेलीको फेर्ने सास गयो,’ अमृताले लेखेकी थिइन् ।
बहिनीले पठाएको म्यासेज हेरेपछि दाजु पुष्पकले बहिनीलाई सम्झाए । उनले म्यासेज पठाउँदै भने–“तँजस्तो मान्छे मर्ने कुरा गर्ने हाे ? भोलि भान्जासँग आइजा कुरा गरौंला ।’
तर उक्त म्यासेजको जवाफ अमृताले पठाइनन् । त्यसपछि राति पौने १० बजेतिर अमृताका श्रीमान प्रेम टण्डनले पुष्पकलाई फोन गर्दै भने, ‘अमृताले विष सेवन गरेकाले अस्पताल ल्याएका छौं ।’ अमृताले पछिल्लो म्यासेज आफ्ना दाजु पुष्पकलाई राति ९ बजेर ३२ मिनेटमा पठाएको देखिएको छ । अस्पतालले ९ बजेर ५० मिनेटमा उनलाई मृत घोषणा गरेको थियो ।
अमृताको मृत्युपछि अहिले दिनहुँ प्रदर्शन भैरहेको छ । अमृताका माइती पक्ष र आफन्तले इलाका प्रहरी कार्यालय बुटवल घेराउ गरिरहेका छन् भने सडकमा पनि दिनहुँ प्रदर्शन गरिरहेका छन् । अमृताले विष सेवन गरेको नभई घरपरिवारले सुनियोजित रूपमा विषादी खुवाएर हत्या गरेको माइती पक्षको आरोप छ ।







