४ वैशाख, काठमाडौं । एसिड (तेजाब) आक्रमण गर्नेहरुलाई कडा सजाय हुने भएको छ ।
सरकारले ल्याएको तेजाब आक्रमणविरुद्धको अध्यादेशमा एसिड आक्रमणको कारण मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैदको सजाय हुने व्यवस्था छ ।
अध्यादेशले मुलुकी अपराध संहितामा एसिडसम्बन्धी अन्य कारबाहीलाई समेत परिमार्जन गरी दोषीलाई थप सजाय हुने व्यवस्था गरेको छ ।
आँखा, कान, नाक, मुख, अनुहार महिला भए स्तन र यौनाङ्गमा भएको क्षतिअनुसार १० देखि २० वा २० वर्षको कैद सजाय तोकिएको छ भने एसिड आक्रमण गर्दा सम्वन्धित व्यक्तिलाई नलागेमा ‘तेजाब आक्रमण गरी अंगभंग गर्ने उद्योग’मा मुद्दा चलाइनेछ र कसुर प्रमाणित भएमा १० वर्षसम्म कैद सजाय हुनसक्छ ।
यस्तै, दुबै आँखा जली वा क्षति भई पूर्ण रुपमा दृष्टि नष्ट भएमा, दुबै कानको जाली वा क्षति भई सुन्ने शक्ति पूर्ण रुपमा नष्ट भएमा, नाक जले वा क्षति भई काम नलाग्ने भएमा, अनुहार पूर्ण रुपमा जली वा क्षति भई कुरुप भएमा, महिला भए दुबै स्तन जली वा क्षति भई काम नलाग्ने भएमा वा कसैको यौनाङ्ग जली वा क्षति भई नासिएमा यस्तो गर्ने गराउनेलाई २० वर्ष कैद र १० लाख जरिवाना हुने व्यवस्था राखिएको छ ।
एउटा, आँखा, एउटा कान, जली वा क्षति भई काम नलाग्ने भएमा, आंशिक रुपमा अनुहार जली वा क्षति भई कुरुप भएमा, महिला भए एउटा स्तन जली वा क्षति भई काम नलाग्ने भएमा, दुबै हात जली काम नलाग्ने भएमा वा दुबै गोडा पूर्ण रुपमा जलेर काम नलाग्ने भएमा, टाउकोको कुनै भाग जली क्षति भएमा वा मेरुदण्ड जली वा क्षति भई काम नलागने भएमा १० देखि २० वर्षसम्म कैद र ७ लाखदेखि १० लाखस्म्म जरिवाना हुनेछ ।
शरीरको अन्य कुनै अंगभंग वा शारीरिक क्षति भएमा कसूरको प्रकृति बमोजिम पाँच वर्षदेखि दश वर्षसम्म कैद र एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।
एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि उद्योग गरेको मानिनेछ र १० वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना हुनेछ ।
अध्यादेशअनुसार एसिड आक्रमणबाट पीडितको तत्काल मृत्यु नभई सोही कामको परिणाम स्वरुप पछि मृत्यु भएमा ज्यान मारेको मुद्दा लाग्नेछ भने शरीरका कुनै असर भए त्यसअनुसार कसूर भएको मानेर मुद्दा चलाइने समेत उल्लेख छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले अध्यादेशले एसिड आक्रमणमा परेकाहरुको निःशुल्क उपचार सुनिश्चित गरेको जानकारी दिइन् । मन्त्री रेग्मीका अनुसार पीडितहरुका नाममा सहयोग उठाउन समेत रोक लगाएको छ ।
‘एसिड आक्रमण गर्ने र एसिड आक्रमणको प्रयास गर्ने समेतलाई कडा सजाय हुने व्यवस्था गरिएको छ । आक्रमणमा परेकाहरुको निःशुल्क उपचार सुनिश्चित गरिएको छ’ मन्त्री रेग्मीले भनिन् ।







