२२ वैशाख, काठमाडौं । आईजीपी नियुक्ति प्रकरणको मुद्दाको सुनुवाइ बिहीबार पनि जारी रहने भएको छ । यसअघि बुधबार सो मुद्दा हेर्दाहेर्दैमा बिहीबारका लागि राखिएको थियो । न्यायाधीश सुष्मालता माथेमाको इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
आईजीपी नियुक्तिमा असहमति जनाउँदै एआईजी विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सरकारले आईजीपी नियुक्त गरेका धीरजप्रताप सिंह आफूभन्दा जुनियर भएको जिकिर गर्दै उनले निर्णय खारेज गर्न परमादेशको माग गरेका थिए ।
सो रिट उपर इजलासमा पोखरेलको तर्फबाट मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गरेका थिए भने सिंहको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए ।
अदालतमा बहस गर्दै अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य र टीकाराम भट्टराईले कुनै पनि हालतमा आईजीपी नियुक्तिको विषयमा अन्तरिम आदेश जारी हुन नसक्ने जिकिर गरेका थिए । उनीहरुले विश्वराज पोखरेल हाल बिदामा रहेको व्यक्ति भएको भन्दै यो अवस्थामा त झन् आदेश जारी हुनै नहुने जिकिर गरेका थिए ।







