अधिवेशन आह्वान अध्यादेश सँगसँगै

२६ वैशाख, काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन आह्वान र दुई वटा अध्यादेश सँगसँगै गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार आइतबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले जेठ ३ गते दिउँसो ४ बजेका लागि बजेट अधिवेशन आह्वान गर्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने कानुनी व्यवस्था छ ।

तर, राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानको सूचना भन्दा पहिले दुई वटा अध्यादेश जारी भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गरेकी हुन् । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संसदीय व्यवस्थामा अधिवेशन नभएको समयमा अध्यादेश जारी गर्ने अभ्यास छ । नेपालले पनि यो अभ्यास अपनाउँदै आएको छ र कानुनले पनि संसद नभएको बेला अत्यावश्यक पर्दा सरकारले अध्यादेश ल्याउने छुट दिएको छ । तर, सरकारले कानुनले दिएको छुटको दुरुपयोग गरेको संसदीय मामलाका जानकारहरु बताउँछन् ।