राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

१५ जेठ, काठमाडौं । राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको छ ।

शुक्रबारको बैठकमा छलफल सकिएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक वर्ष २०७९÷८० का लागि सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । जसलाई सभाले बहुमतले पारित गरेको हो ।

नीति तथा कार्यक्रमलाई पारित गर्नुपूर्व बैठकमा छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले जवाफसमेत दिएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गरेकी थिइन् । जसमाथि राष्ट्रियसभामा बिहीबार र शुक्रबार छलफल भएर पारित भएको हो ।

नीति तथा कार्यक्रममाथि परेको संशोधनको प्रस्तावलाई बैठकको बहुमतले अस्वीकृत गरेको छ । राष्ट्रियसभाको अर्को बैठक जेठ १५ गते दिउँसो ३ बजे बस्नेछ ।