२७ जेठ, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले नेपाल अमेरिकी सैनिक र रणनैतिक कार्यक्रममा जोडिन खोजको हो ? भनी सरकारलाई प्रश्न गरेका छन् । नेपाल र अमेरिकाबीच स्टेट पाटनरसिप प्रोग्रामको सम्झौता हुन लागेको र उक्त सम्झौतामार्फत नेपाल सैनिक र रणनैतिक कार्यक्रमहरुमा जोडिन खोजेको हो कि भन्ने उनको आशंका छ ।
बिहीबार प्रतिनिधिसभाका बजेटको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा भाग लिँदै सत्तारुढ दल माओवादी केन्द्रका सांसद पोखरेलले सरकारसँग नेपाल र अमेरिकाबीच हुन लागेको सैन्य भ्रमणको उदेश्य र एजेण्डाबारे सदनलाई जानकारी गराउन माग गरे । अमेरिकी सेनाका प्यासिफिक कमान्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लिन चार दिने नेपाल भ्रमणमा आउँदैछन् ।
ए फ्लिन भारतीय सेनाका अधिकारीहरुसँग छलफलपछि नेपाल आउन लागेको भन्दै उनले आशंका व्यक्त गरे । केही समयपछि इन्डो प्यासिफिकका प्रमुख जोन लिनोले पनि नेपाल भ्रमण गर्ने तय भएको बताइएको छ । त्यसपछि नेपाली सेनाका सेनापतिले अमेरिका भ्रमण गर्ने र लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी भ्रमण गर्ने तय भएको उल्लेख गर्दै सांसद पोखरेलले भ्रमणहरुको उदेश्य र एजेण्डाबारे जानकारी मागेका हुन् ।
‘अमेरिकी सेनाहरुको नेपाल भ्रमण र नेपाली सेनाहरुको अमेरिकी भ्रमणको उदेश्य र एजेण्डाबारे सरकारले सदनलाई जानकारी गराउनु पर्दैन ? अविलम्ब सदनलाई जानकारी गराइयोस् भन्ने माग गर्छु’ उनले भने ।
आफुले अमेरिकी र नेपाली सेना बीच स्टेट पाटनरसिप प्रोग्रामको सम्झौता हुन लागेको सुनेको उल्लेख गर्दै उनले भने, ‘यो स्टेट पाटनरसिप प्रोग्राम भनेको के हो ? यसबारे सरकारको धारणा के छ ? स्टेट पाटनरसिप प्रोग्रामको नाममा सैनिक र रणनैतिक कार्यक्रमहरुमा जोडिन खोजिएको हो ?’ स्टेट पाटनरसिप प्रोग्रामको माध्यमबाट विस्तारै अमेरिकाको इन्डो प्यासिफिक स्ट्याट्रेजीमा नेपाललाई सामेल गराउने विज्ञहरुले उठाइराखेको भन्दै उनले यसबारे सदनलाई स्पष्ट पार्न सरकारलाई आग्रह गरे ।
पोखरेलले संसदमा व्यक्त गरेको धारणा
आज अमेरिकी हिन्द प्रशान्त कमाण्ड इन्डो प्यासिफिकका जर्नेल चार्ल्स ए फ्लिन नेपालको चार दिने भ्रमणमा आउने खबर छ । सुनिएको छ, भारतीय सेनाका अधिकारीहरुसँग छलफलपछि नेपाल आउँदैछन् । के पनि सुनिएको छ भने अर्को भ्रमण अमेरिकी र नेपाली सेनाबीच स्टेट पाटनरसिप प्रोग्रामको सम्झौताका लागि दवाव दिने कार्यक्रममा केन्द्रीत छ । केही समयपछि इन्डो प्यासिफिकका प्रमुख जोन लिनोले पनि नेपाल भ्रमण गर्दैछन् । नेपाली सेनाका सेनापतिले केही समयपछि अमेरिका भ्रमण गर्ने समाचार आएको छ । यो भ्रमण लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण हुने सुनिाएको छ ।
अमेरिकी सेनाहरुको नेपाल भ्रमण र नेपाली सेनाहरुको अमेरिकी भ्रमणको उदेश्य र एजेण्डाबारे सरकारले सदनलाई जानकारी गराउनु पर्दैन ? अविलम्ब सदनलाई जानकारी गराइयोस् भन्ने माग गर्छु । यो स्टेट पाटनरसिप प्रोग्राम भनेको के हो ? यसबारे सरकारको धारण के छ ? स्टेट पाटनरसिप प्रोग्रामको नाममा सैनिक र रणनैतिक कार्यक्रमहरुमा जोडिन खोजिएको हो ? प्रश्नहरु उठेका छन् । स्टेट पाटनरसिप प्रोग्रामको माध्यमबाट विस्तारै अमेरिकाको इन्डो प्यासिफिक स्ट्याट्रेजीमा नेपाललाई सामेल गराउने विज्ञहरुले यो कुरा उठाइराखेका छन् । सदनलाई सरकारले यसबारेमा स्पष्ट पार्न जरुरी छ ।







