१७ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अभिनेता राजेश हमालबीच भेटघाट भएको छ।
प्रचण्डलाई भेट्न हमाल शुक्रबार बिहान उनको निवास खुमलटार पुगेका थिए।
यी दुईपक्षको भेटघाटको संयोजन भने कलाकार चेतन सापकोटाले गरेका हुन् । ‘अहिलेसम्म भेटघाट नभएको र दुबैले भेट्न चाहनुभएको थियो,’ कलाकार सापकोटाले भने। उनीहरूबीच समसामयिक विषयमा छलफल भएको भेटमा सहभागी समेत रहेका सापकोटाले बताए।
उनीहरुबीच राजनीति र केही सिने क्षेत्रका कुराकानी भएको थियो।
देशमा राजनीतिक परिवर्तन भएको र जनतामा चेतनाको स्तर बढेको भन्दै राजनीतिक र सामाजिक आन्दोलनमा प्रचण्डले खेलेको भूमिकाको हमालले प्रशंसा गरेका थिए।
अहिलेको परिवर्तनलाई संस्थागत गर्दै समृद्धि ल्याउन भने बाँकी नै रहेको उल्लेख गर्दै हमालले जनताले अपेक्षा गरेअनुसारको विकास नपाएको बताएका थिए।
हमालले प्रचण्डसँग राष्ट्रले सम्झिए आफू सेवा गर्न तयार रहेको बताएका थिए। तत्काल राजनीतिमा आउने सोच नरहे पनि आउँदै आउँदिनँ भन्ने पक्षमा पनि आफू नरहेको हमालले बताएका थिए ।
नेपाललाई विदेशी चलचित्रको सुटिङका लागि हब बनाउन सकिने भन्दै त्यसका लागि नेपाली कला संस्कृति अनि प्राकृतिक दृश्यलाई विश्वमा चिनाउन जरूरी रहेको हमालले उल्लेख गरेका थिए।
जवाफमा प्रचण्डले हमाललाई आफूले बौद्धिक अनि अध्ययनशील कलाकारको रूपमा बुझेको बताएका थिए।







