इलामका केही पालिकामा फेला परे ‘नाइरोबी फ्लाइ’का संक्रमित

२८ असार, इलाम । इलाम जिल्लाका केही पालिकामा ‘नाइरोबी फ्लाइ’का संक्रमित फेला परेका छन्।

जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबका बिरामी धमाधम फेला पर्न थालेका हुन्। रातो र कालो रङ भएको लामखुट्टेजस्तो किराको टोकाइले यसको संक्रमण हुने जनाइएको छ। साथै यस्ता किराका मलमूत्रले समेत मानिसमा संक्रमण फैलिने बताइएको छ ।

‘नाइरोबी फ्लाइ’का सङ्क्रमितहरु धमाधम अस्पताल आउन थालेको जिल्ला स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति विमल बरालले जानकारी दिएका छन् । किराको टोकाइबाट सुरक्षित रहन विशेषगरी राति सुत्दा झुल प्रयोग गर्नैपर्ने उनले बताएका छन्।

पछिल्ला दिन जिल्लाका सरकारी स्वास्थ्य संस्था र निजी मेडिकलमा यस्ता संक्रमित फेला पर्न थालेका हुन्। संक्रमितको छाला रातो हुने, फोका–फोका आउने, चिलाउने, पाक्नेलगायतका लक्षण देखा पर्दछन्।