२९ असार, पोखरा । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ ले पहिलो पटक प्रदेशसभाको रोष्ट्रममा बोलेका छन् ।
बुधबार आर्थिक वर्ष २०७९–८० को बजेटमाथि छलफलको क्रममा संसदमा उठेका प्रश्नमाथि जवाफ दिनका लागि उभिएका मनाङेले प्रश्नको जवाफभन्दा पनि आफ्नो गुनासो बढी सुनाएका थिए।
मन्त्री मनाङेले आफ्नो मन्त्रालयमा ७ महिनाको अवधिमा ५ जना सचिव फेरिएको गुनासो गरका छन् । कतिपय सचिव भेट्न नपाउँदै सरुवा भएर गइसक्ने दुखेसो पोखे । मन्त्री मनाङेले भने, ‘मैले फेर्ने होइन फेरि, सचिवहरु मन्त्रालयमा बजेट नै छैन भन्नुहुन्छ । उनीहरुको काम बजेट हेर्ने हो जस्तो त लाग्दैन । नेपालको सचिव बजेट हेर्दारहेछन् ।’
यसअघि ३ पटक मन्त्री हुँदा पनि संसदमा उठेका प्रश्नमाथि मनाङेले कुनै जवाफ दिएका थिएनन् । प्रदेशसभाको कार्यकालको अन्तिममा आएर संसदको रोष्ट्रममा उभिएका उनले मन्त्रालयमा बजेट कम भएका कारण सचिवहरु फेरिएको फेरियै गरेको बताए ।
गण्डकी प्रदेशसभाको बजेटमा प्रदेशसभा सदस्य धनमाया लामा, दिलमाया रोकालगायतले प्रश्न उठाएका थिए । चालु आर्थिक वर्षमा युवा तथा स्वरोजगार कार्यक्रमअन्तर्गत ५ करोड रुपैयाँ कार्यान्वयनमै नआई फिर्ता भएको भन्दै जसपा सांसद लामाले आगामी आर्थिक वर्षका लागि विनियोजन भएको २ करोड ५० लाखको योजनाबारे प्रश्न उठाएकी थिइन् ।
लामाले उठाएको प्रश्नमा जवाफ दिँदै प्रदेशका खेलकुदमन्त्री मनाङेले अघिल्लो पटक सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेकाले खर्च गर्न नसकेको र आगागी आर्थिक वर्षमा भने कार्यान्वयन हुने दाबी गरे । उनले उक्त विषय संसदमा उठ्न आवश्यकसमेत नरहेको जिकिर गरे ।
मन्त्री मनाङेले अन्य मन्त्रालयभन्दा आफ्नो मन्त्रालयलाई थोरै बजेट दिएको समेत दुखेसो पोखे ।उनले आफ्नो मन्त्रालयलाई पर्यटन मन्त्रालयले ५ लाख रुपैयाँ मात्र छुट्याएको समेत बताए । ‘मलाई लाग्छ सबैभन्दा बढी बजेट चाहिने टुरिजम् सेक्टरलाई हो । मलाई ५ लाख देको छ । ५ लाखले त खच्चड पनि हिँड्दैन, घोडा पनि हिँड्दैन,’ उनले भने, ‘शिक्षा मन्त्रालयबाट मेरो प्रोजेक्टका लागि एउटा १५ र अर्को १० लाख आको छ ।’
मन्त्री मनाङेले बजेट थोरै भएकै कारण बनाएका खेल मैदानको स्तरोन्नति गर्न नसकेको बताए ।उनले आफूले सकेको काम गरिरहेको भए पनि देशको स्थिति नराम्रो भएको जिकिर गरे । ‘बनाएको ग्राउन्डमा पनि गोरु जोत्नेबेला भइसक्यो । यो मन्त्रालय यसरी नै चलाउने हो भने कामै छैन,’ उनले भने ।







