अभिनेता रेमनदासले गरे जर्मनकी प्रेमिकासँग बिहे

३० असार, काठमाडौं । अभिनेता रेमनदास श्रेष्ठ जर्मनकी प्रेमिका जना मुद्रासँग विवाह बन्धनमा बाँधिएका छन् ।

रेमन र जना विगत ५ वर्षभन्दा लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बताइन्छ । बिहीवार काठमाडौंस्थित ज्ञानेश्वरमा रहेको एटिक रेस्टुरेन्टमा उनीहरुको वैवाहिक कार्यक्रम चलिरहेको छ । रेमन र जनाको विवाहमा दुई पक्षका परिवार र आफन्तसँगै रेमनका नजिकका फिल्मकर्मीहरु सहभागी छन् । विवाहका लागि जनाको परिवार यसै साता जर्मनीबाट नेपाल आएको थियो । उनीहरुले हिन्दू परम्पराअनुसार नै विवाह गरेका छन् । रेमनले यही शनिवार चितवनमा रिसेप्सन पार्टी दिँदैछन् ।

चर्चित कलाकार मदनदास श्रेष्ठका छोरा रहेका रेमनले ‘जाइरा’, ‘द ब्रेकअप’, ‘आधा लभ’, ‘जालो’, ‘मेघा’, ‘कर्कस’, ‘भिसा गर्ल’ लगायत एक दर्जन बढी फिल्ममा अभिनय गरिसकेका छन् । पछिल्लो समय उनी चर्चित टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’मा होस्टको रुपमा आबद्ध छन् ।

एक समय रेमनको नम्रता श्रेष्ठसँग प्रेम चर्चा चलेको थियो । तर, अहिले उनीहरु विजनेश पार्टनर छन् ।