२ साउन, काठमाडौं । चलचित्र ‘सम्झना बिर्सना’ निर्देशक निमेष प्रधानले फिल्म रिलिजकै समयमा नायिका पूजा शर्माले कन्ट्रोभर्सी निकालेको आरोप लगाएका छन्।
अभिनेत्री पूजा शर्माले करीब २ महिना अगाडि फिल्म ‘सम्झना बिर्सना’को एक गीत सार्वजनिक कार्यक्रममा भनेकी थिइन्, ‘यो फिल्मका लागि म सक्दो गर्छु । फिल्म हेरिसकेपछि दर्शकले मन पराउने वा मन नपराउने त्यो दोस्रो कुरा हो । तर, म मेरो फिल्मका लागि जे गर्न पनि तयार छु । म होम प्रोडक्सन र बाहिरको फिल्म भनेर कहिल्यै भन्दिनँ । म मात्र सफल हुनुपर्छ भन्ने सोच छैन, निर्माता पनि सफल हुनुपर्छ । पूजाका कारण यस्तो भनेर सुन्न नपरोस् भन्ने लाग्छ ।’
जुन फिल्मको मञ्चमा उभिएर पूजाले आदर्शवादी कुरा गरेकी थिइन्, आज त्यही फिल्मको टिम उनीप्रति असन्तुष्ट देखिएको छ । उनले प्रचारमा पर्याप्त समय नदिएको, फिल्म प्रदर्शनको मुखमा प्रचार छाडेर म्यूजिक भिडियोमा काम गरेको, बिना जानकारी अष्ट्रेलिया उडेको, फिल्म रिलिजको समयमा अनेक विवाद निकालेको गुनासो निर्माता तथा निर्देशकको छ । निर्देशक निमेष प्रधानले पूजा शर्माको व्यवहारबाट आफू र निर्माता दुःखी भएको बताएका छन् ।
शुक्रवारबाट प्रदर्शन भएको आफू अभिनीत फिल्म ‘सम्झना बिर्सना’को प्रतिक्रिया बुझ्न शनिवार दिउँसो बालाजुमा रहेको अष्टनारायण हलमा पूजा र आकाश पुगेका थिए। पूजासँगै आकाश श्रेष्ठले अष्टनारायणमा आफूहरुलाई भेट्न सँगै फिल्म हेर्नका आगि आउन दर्शकहरुलाई सामाजिक सञ्जालमार्फत् आग्रह गरेका थिए । दुवैका फ्यानहरु फूलमाला र खादा नै बोकेर हल पुगे ।
पूजा र आकाश हलको प्रांगणमा पुगेपछि दुवैका आ–आफ्ना फ्यानहरुले उनीहरुलाई फूलमाला र खादा ओडाएर अनुहार पुरिदिए । र, दुवैका फ्यानहरुले छुट्टा–छुट्टै नारा समेत लगाए । आफ्नो पक्षमा दर्शकको नाराबाजी कम भएपछि उनले दर्शकसँग झर्किँदै भनिन् ‘के हो यो ? फिल्म कसको ? दुईटैको हो । के गरेको यो ?’ दर्शकसँग झर्किएको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ र धेरैले उनमा घमण्ड, दम्भ र अहंकार बढेको भन्दै आलोचना समेत गरेका छन् ।
शनिवार अष्टनारायण हलमा पूजा दर्शकहरुसँग झर्किएको घटनाले पनि फिल्मलाई ठूलो असर गरेको निर्देशक प्रधानको विश्लेषण छ । फिल्म हेर्न पनि जाने अनि गाली पनि खाने भन्ने प्रभाव दर्शकमा परेको बताउँदै उनले अगाडि थपे– ‘हाम्रो लागि दर्शक भगवान् हुन् । फिल्म हेरेपछि दर्शकबाट पाउने हरेक खालका प्रतिक्रिया हामीले स्वीकार गर्नुपर्छ । पूजा झर्किएपछि दर्शकमा फिल्म हेर्न पनि जाने अनि गाली पनि खाने भन्ने प्रभाव प¥यो । हुटिङ भनेको जसलाई जो मनपर्छ उसकै गर्ने हुन् । तर, उसलाई मन पराइस् भनेर दर्शकलाई गाली गर्न त पाइएन नी !’
निर्देशक प्रधान अगाडि भन्छन्, ‘फिल्म प्रदर्शनको दोस्रो दिन शनिवार अष्टनारायण हलमा दर्शकसँग प्रतिक्रिया बुझेपछि त्यही साँझ लबिङ मलमा पनि जाने कुरा भएको थियो । पूजाजीले ‘तपाईंहरु बस्दै गर्नुस् म आउँछु’ भन्नुभयो । हामी उहाँलाई कुरेर बस्यौं । एकैचोटी विमानस्थल पुगेपछि पो उहाँले ‘म त अष्ट्रेलिया जान लागेको’ भन्नुहुन्छ । फिल्म चल्नु र नचल्नु आफ्नो ठाउँमा छ । सबै फिल्म चल्छ भन्ने पनि छैन । तर, कलाकारको सपोर्ट पाएर नचल्नु र सपोर्ट नै नपाएर नचल्नुमा ठूलो फरक हुन्छ ।’
‘सम्झना बिर्सना’मा पूजा शर्मालाई २० लाख दिएर काम गराएको निर्देशक प्रधान खुलासा गर्छन् । पूजाको स्टारडम होला भन्ने आधारमा पनि यति मोटो रकम तिरेको उनको भनाई छ । ‘हामीलाई पूजा र आकाशको जोडी एकदमै राम्रो लाग्यो । त्यो टाइममा उहाँहरुको जोडी चलिरहेको थियो । फिल्ममा पनि उहाँहरु फिट हुनुहुन्थ्यो । स्टोरी सुनेपछि पूजाजी काम गर्न तयार हुनुभयो । हामीले उहाँको सबै कुरा मान्यौं तर, उहाँबाट भने हामीले सहयोग पाएनौं,’ प्रधानले गुनासो गरे । निर्देशक प्रधानलाई लाग्छ कि ‘सम्झना बिर्सना’ जति चलिरहेको छ त्यो फिल्मकै दमले चलिरहेको छ ।







