२० साउन, काठमाडौं । चर्चित जोडी पुजा शर्मा र आकाश श्रेष्ठ अभिनित फिल्म ‘सम्झना बिर्सना’ अब भारतका विभिन्न शहरमा प्रदर्शन गरिने भएको छ ।
असार ३१ गते नेपालमा प्रदर्शन भएको उक्त फिल्मलाई निमेष प्रधानले निर्देशन गरेका हुन्। दार्जिलिङ निवासी रेविका प्रधान र आदित्य प्रधानले मिलेर निर्माण गरेको फिल्मलाई आगामी ९ सेप्टेम्बर (भदौ २४ गते) बाट पहिलो चरणमा दार्जिलिङ, सिक्किम, सिलगुडी, जय गाउँलगायतका ठूला शहरहरुमा प्रदर्शन गर्न लागिएको हो ।
भारतका हलमा फिल्मलाई अंग्रेजी सबटाइटलमा प्रदर्शन गरिने निर्माता प्रधानले जानकारी दिए । नेपालमा व्यवसायिक सफलता हात नपारेतापनि प्रतिक्रिया भने राम्रो पाएको थियो ।
विभिन्न चरणमा फिल्म रिलिज गर्ने तयारीमा रहेका प्रधानले ७ अक्टोबरबाट असाम, उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा प्रदर्शन गर्ने तयारी गरेको र तेस्रो चरणमा २१ अक्टोबरबाट भारतका अन्य शहरमा प्रदर्शन गरिने तयारी रहेको प्रधानले बताएका छन्।
भारतमा नेपाली फिल्मको बजार राम्रो रहेको र त्यसलाई विस्तार गर्न ‘सम्झना बिर्सना’को प्रदर्शनले सघाउने विश्वास पनि प्रधानले व्यक्त
गरे ।
पुजा र आकाश संगसंगै सुनिल थापा, छुल्ठिम गुरुङ, शिशिर राणाको पनि अभिनय रहेको फिल्मलाई दार्जिलिङ, सिलगुढी, सिक्किम क्षेत्रमा छायांकन गरिएको थियो । त्रिकोणात्मक प्रेमकथा बोल्ने फिल्ममा शिव ढकालको छायांकन, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेल र निमेष प्रधान लगायतको संगीत रहेको छ ।







