२२ साउन, काठमाडौं । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले केही समयअघि आफूले दर्ता गरेको गाँजा फुकुवासम्बन्धी गैरसरकारी विधेयक अघि बढाउन माग गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद तामाङले गाँजा खेतीलाई व्यवस्थापन तथा नियमन गर्न बनेको विधेयक दर्ता गरेको धेरै समय भएको उल्लेख गर्दै त्यसलाई अघि बढाउन आग्रह गरे ।
यस्तै उनले अविरल परेको बर्षाबाट शनिवार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर २ को डाँडाघरे टोल र सिरानटोलका ३० घर जोखिममा रहेको जानकारी गराए । उनले पहिलोबाट बाटो समेत अवरुद्ध भएको बताए ।
यस्तै मेलम्ची नदीमा आएको बाढीबाट हेलम्बु गाउँपालिकाका ६ ठाउँमा बाटोमा क्षति पुग्दा सम्पर्क टुटेको जानकारी गराए । उनले विपद प्रतिकार्य केन्द्रीय समिति मार्फत बाटो खोल्ने कुरामा छिटो ध्यान पु¥याउन सरकारलाई अनुरोध समेत गरेका छन्।







