असोज १०, काठमाडौं । प्रदेश २ जनकपुरमा पदस्थापन भई हाजिर हुन गएकी डा.सम्झना कुमारी काफ्लेलाई मन्त्रालयमा हाजिर हुन नदिएको प्रति नेपाल भेटेरिनरी एशोसिएसनले आपत्ति जनाएको छ ।
नेपाल सरकारको निर्णय अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. २ मा हाजिर हुन गएकी सचिव डा.काफ्लेलाई मन्त्रालयका मन्त्रीको संलग्नतामा हाँजीर हुन नदिने प्रपञ्च सहित भएको अभद्र व्यवहार प्रति एशोसिएसनले भर्त्सना गरेको हो।
एशोसिएसनले आज एक विज्ञप्ती जारी गर्दै भनेको छ – ‘नेपाल सरकारको निर्णय अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. २, जनकपुरको सचिव पदमा पदस्थापन हुनुभएका यस एशोसिएसन तथा नेपाल पशु चिकित्सा परिषद्का सदस्य डा. सम्झना कुमारी काफ्ले सम्वन्धित मन्त्रालयमा हाँजिर हुन जाँदा मन्त्रालयका मन्त्रीको संलग्नतामा उहाँलाई हाँजीर हुन नदिने प्रपञ्च सहित भएको अभद्र व्यवहारको यस एशोसिएसन घोर भर्त्सना गर्दछ ।’
‘सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित नेपालको संघियता कै खिलाफ हुने गरी प्रदेश सरकारको गरिमामय पद धारण गरेको व्यक्तिको निर्देशनमा भएका यस्ता अवान्छित गतिविधि प्रति प्रदेश नं. २ को सरकार र नेपाल सरकार मौन रहँदा संघियता कार्यान्वयनमा जटिलता आउनुका साथै सवै राष्ट्रसेवक कर्मचारीहरुको मनोवलमा नकरात्मक असर पर्ने देखिन्छ। वामे सर्दै गरेको संघियता कार्यान्वयनमा नै चुनौति दिने यस्ता घटना प्रति मौन नवस्न र घटनाको सत्य तथ्य छानविन गरी यथाशिघ्र न्यायोचित निरुपण गर्न सम्वन्धित सरकारसँग जोडदार माग गर्दछौं।’ विज्ञप्तीमा भनिएको छ ।
एशोसिएसन अध्यक्ष सितलकाजी श्रेष्ठको हस्ताक्षर रहेको उक्त विज्ञप्तीमा डा. काफ्लेलाई जस्तोसुकै अवस्था आइपरे पनि उच्च मनोवलका साथ राष्ट्रसेवामा कटिवद्ध रहन अनुरोध गरिएको छ ।








