मिर्चैया नगरपालिकाको शैक्षिक संस्था खोल्ने तयारी

असोज ११, सिरहा ।
जिल्लाको मिर्चैया नगरपालिकाले आइतबारबाट सबै शैक्षिक संस्था खोल्ने तयारी गरेको छ । शुक्रबार बसेको नगर शिक्षा समितिको बैठकले सामुदायिक तथा संस्थागत विद्यालय खोल्ने निर्णय गरेको हो ।

यद्यपि सुरक्षाका लागि केही निश्चित मापदण्ड पनि तोकिएका छन् । जस्तै ः विद्यालय जानुअघि साबुनपानीले हात धुनुपर्ने, मास्क लगाउनुपर्ने, विद्यालयमा सामाजिक दुरी कायम राख्नुुपर्ने आदि । यसैगरी वैशाखदेखि भदौसम्मको शूल्क कुनै पनि विद्यालयले लिन पाउनेछैनन् ।

विद्यार्थी सिकाइ सहज निर्देशिका २०७७ र पाठ्यक्रम विकास केन्द्रबाट जारी गरिएको पाठ्यक्रम समायोजन ढाँचा २०७७ लाई मध्यनजर राख्दै विद्यार्थीलाई गृहकार्य दिने र विद्यालय सञ्चालन गरिने बताइएको छ । कुनै घरमा संक्रमित भेटिएमा त्यस्ता घरका बालबालिकालाई विद्यालय नआउन भनिनेछ ।

विद्यार्थीलाई खोकी, ज्वरोजस्ता कोरोनासँग सम्बन्धित लक्षण देखिए जाँचको व्यवस्था मिलाइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । कोरोना संक्रमणबाट पछिल्लो ६ महिनादेखि नेपालभरका सबै विद्यालय बन्द रहेका बेला उक्त नगरपालिकाले खोल्ने निर्णय गरेको हो ।