सशस्त्रको नयाँ गुल्म व्यासको छारुङमा

असोज ११, दार्चुला ।
सशस्त्र प्रहरी बल अब बाह्रैमास छारुङमा रहने भएको छ । स्थायी रूपमा कार्यालय स्थापना नभए पनि ५० नम्बर गुल्म रहेको हुँदा त्यहाँ बस्ने सशस्त्रका महानिरीक्षक शैलेन्द्र खनालले बताएका छन् ।

शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादल र महानिरीक्षक खनाललगायतको टोलीले त्यहाँको भवन शिलान्यास गरेको थियो । गत वैशाख ३१ मा छारुङ गागामा सशस्त्रको बोर्डर आउट पोस्ट स्थापना गरिएको थियो भने असार अन्तिममा मन्त्रीपरिषद्ले त्यहाँ गुल्म स्थापना गर्ने निर्णय लिएको थियो ।

नेपालले जारी गरेको नक्सा अनुसार कालापानीभन्दा यो गुल्म १४ किलोमिटर वर हो । त्यहाँ सशस्त्रको भवन निर्माणका लागि १० करोड रूपैयाँमा ठेक्का लगाइएको छ । १५ रोपनी क्षेत्रफलमा ३६ कोठा बनाइनेछन् ।