असोज ११, कञ्चनपुर ।
प्रहरीले सुनका गहनासहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । भारतबाट ल्याइएको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई नियन्त्रणमा लिएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुवै जनालाई सुनका गहनासहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा डोटी केआइसिंह गाउँपालिका–२ का २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेल छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार दुवै जनाबाट ४४० ग्राम ६३० मिलीग्राम सुनका विभिन्न किसिमका तयारी गहना बरामद भएको छ । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको बताइएको छ ।







