असोज १३, कैलाली ।
सुदूरपश्चिम प्रदेशको राजधानी तोकिए पनि कार्यान्वयनको प्रक्रिया अझै अघि बढ्न सकेको छैन । दुई वर्ष अघि नै स्थायी राजधानी तोकिए पनि कार्यान्वयन हुन सकेको छैन ।
स्थायी राजधानी घोषणा गरिएको वन क्षेत्रको जग्गासमेत प्रदेश सरकारले प्राप्त गरेको छैन । २०७५ असोज १२ गते बसेको प्रदेश सभाको दोस्रो अधिवेशनको ४५ औँ बैठकले कैलालीको गोदावरी नगरपालिकाको वडा नं २ र ४ को वन क्षेत्रमा राजधानी बनाउने निर्णय गरेको थियो ।
प्रदेश सभाले राजधानीको स्थान र नाम छनोटका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक तारा लामा तामाङको संयोजकत्वमा ५ सदस्यीय विशेष सुझाव समिति गठन गरेको थियो । समितिमा नेकपाको तर्फबाट तामाङसहित सोही दलका बलदेव रेग्मी, प्रेम प्रकाश भट्ट, चुनकुमारी चौधरी थिए । समितिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट श्यामलाल राना थारु थिए ।
उक्त समितिले स्थायी राजधानीको लागि हाल रहेको स्थान छनौट गरेको थियो । तेघरीस्थित नेपाली सेनाको ब्यारेक रहेको स्थानदेखि उत्तर पश्चिम, गोदावरी–धनगढी–डडेल्धुरा सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व र गोदावरी बजारदेखि दक्षिणको चार किल्ला क्षेत्र सिफारिस गरेको थियो ।
दुई वर्ष अघि असोज १२ गते दुईतिहाइ बहुमतले उक्त स्थान नै स्थायी राजधानी घोषणा भयो तर, कार्यान्वयन भने अझै हुन सकेको छैन । स्थायी राजधानीको स्थान तय भएको २ बर्ष सम्म त्यहाँ एउटा बोर्डसमेत राखिएको छैन । ‘हाम्रो काम सुझाव दिने मात्रै थियो । हामीले सुझाव दिएका थियौँ । सरकारले केहि गरेन,’ राजधानी छनोट समितिका सदस्य श्यामलाल चौधरीले भने ।
सरकारकै कमजोरीले राजधानी कार्यान्वयनमा समस्या भइरहेको विपक्षी दलहरूको ठहर छ । नेपाली कांग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले बन मासेर राजधानी कार्यान्वयन गर्ने विषय उपयुक्त नभएको बताए । ‘हामीले सुरुदेखि नै वन मासेर राजधानी बनाउन हुँदैन भनेका थियौँ,’ उनले भने, ‘वन फँडानी गरेर राजधानी बनाउने कुरा राम्रो होइन । त्यसैमाथि सरकारले कुनै चासो दिएको छैन ।’
गोदावरीमा राजधानी तोकिए पनि सरकारले राजधानी कार्यान्वयन चासो नदिएको सत्तारुढ दलकै कतिपय सांसद आरोप लगाउँछन् । ‘राजधानी कार्यान्वयनका गर्न सरकार गम्भिर भएन’ नेकपाकी सांसद तथा राजधानी छनोट समितिका सदस्य चुनकुमारी चौधरीले भनिन्, ‘सरकारका मन्त्रीहरू नै त्यहाँ राजधानी कार्यान्वयन गर्न नचाहेको जस्तो देखिन थालेको छ ।’ उनले तत्काल राजधानी कार्यान्वयन प्रकृया अघि बढाउन मागसमेत गरिन् ।
अस्थायी राजधानी भन्दा करिब २० किलोमिटर उत्तरको क्षेत्रमा स्थायी राजधानी घोषणा गरिएको थियो । वन क्षेत्रमा राजधानी घोषणा भएका कारण राजधानी कार्यान्वयनमा समस्या आएको धेरैको बुझाइ छ ।

त्यसैमाथि सर्वोच्च अदालतमा दुई वटा मुद्दा नै दर्ता भए । अहिले अदालतको काम अघि नबढ्दा राजधानीको काम पनि अघि बढ्न सकेको छैन । ‘अदालतको नियमित काम सुरु नहुँदा पेशी अगाडि बढ्न सकेको छैन’ सुदूरपश्चिम प्रदेशका मुख्य महान्यायाधिवक्ता कुलानन्द उपाध्यायले भने, ‘अदालतले चाँडै यस विषयमा फैसला गर्ला ।’
सुदूरपश्चिम प्रदेश सरकारले राजधानी तोकेको ठाउँमा भौतिक संरचनालगायतका कार्य गर्न गत वर्ष १ अर्व रुपैयाँ बजेटसमेत विनियोजन गरेको थियो । तर अदालतको फैसला नआउँदा र संघीय सरकारले राजधानी कार्यान्वयनका लागि जग्गा हस्तान्तरण नगर्दा उक्त रकम पनि प्रयोग हुन पाएन ।
जग्गा प्राप्तिका लागि संघीय सरकारलाई आग्रह गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले बताए । ‘सम्भवतः चाँडै हामीले जग्गा प्राप्त गर्छौ’, उनले भने, ‘त्यसलगत्तै डीपीआर लगायतको काम सुरु हुन्छ ।’
राजधानी तोक्दा जबरजस्ती गरेको र निर्णय लादेकाले पनि कार्यान्वयनमा समस्या भएको हो । राजधानी तोक्न बोलाइएको प्रदेश सभा बैठक प्रतिपक्षले बहिष्कार गरेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले विशेष सुझाव समितिले ल्याएको प्रस्ताव मान्य नहुने बताएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपाले संसद् बहिष्कार गरेपछि सत्तारुढ दलका सांसदहरू भने मतदान प्रक्रिया सहभागी भएका थिए ।
सभामुखसहित ५३ जना प्रदेश सभा सदस्य रहेको यस प्रदेशमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका ३९ जना, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ जना सांसद छन् । सुदूरपश्चिम प्रदेश नाम र स्थायी राजधानी तेघरीमा हुनुपर्नेमा ३८ जना प्रदेश सभा सदस्यको मत परेको थियो ।
विपक्षमा शून्य मत परेको थियो । ३६ जना पुगे दुई तिहाइ मानिन्छ । दुई तिहाइ भन्दा बढीको मतले राजधानी र नाम स्वीकृत गरिएको प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले बताएका थिए ।







