असोज १३, बैतडी ।
जिल्लाको पाटन नगरपालिका कार्यालयका सम्पूर्ण कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले नियन्त्रणमा लिएको छ । सोमबार अख्तियारको टोलीले छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो ।
कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितताको उजुरीपछि कागजपत्रहरु नियन्त्रणमा लिइएको आयोग कञ्चनपुरका सूचना अधिकारी हरीशचन्द्र जोशीले जानकारी दिए । कोरोना नियन्त्रणको नाममा अनियमितता गरेको भनेर फोन र लिखित उजुरी आयोगमा आएका थिए ।
नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा गत आर्थिक वर्षमा एक करोड ७३ लाख रूपैयाँ खर्च भएको सार्वजनिक गरेको थियो । तर यो शीर्षकमा अनियमितता भएको भन्दै नगरसभा सदस्य भीमदत्त भट्टको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।
उक्त छानबिन समितिले यही असोज ९ गते प्रतिवेदन सार्वजनिक गर्दै कोरोना नियन्त्रण तथा अन्य शीर्षकमा ५३ लाख १५ हजार सात सय २१ रूपैयाँ अनियमितता गरेको ठहर गरेको थियो । सोही प्रतिवेदन र उजुरीका आधारमा छानबिन गर्न अख्तियारको टोलीले प्रतिवेदनसहित कोरोना जोखिम नियन्त्रणमा राहत सामग्री खरिद र वितरणका साथै सवारी साधन खर्चको विवरणसहितको फाइल नियन्त्रणमा लिएको हो ।
‘छानबिन समितिले निकालेको प्रतिवेदनमा उल्लेख गरिएका बुँदाहरुका आधारमा सबै कागजात लगिएको छ’, सूचना अधिकारी जोशीले भने, ‘अनुसन्धान स्थलगत पनि हुन्छ ।’ छानबिन समितिले कर्मचारीदेखि जनप्रतिनिधिहरुले सवारी साधन प्रयोगका नाममा अनियमितता गरेको ठहर गरेको थियो ।
समितिले प्रतिवेदन सार्वजनिक गर्दै प्रतिवेदनमा औँल्याइएका अनियमित खर्च असुलउपर गर्न नगरपालिकालाई आग्रह गरेको थियो । जवाफमा नगरप्रमुख केशवहादुर चन्दले छानबिन गरी अनियमितता गरेको भए असुलउपर गरिने बताएका थिए । (रासस)







