अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषावकरबीचअंशबन्डा

काठमाडौं । अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषावकरबीच अंशबन्डा भएको छ । निशाले शरदविरुद्ध अंश र माना चामलको मुद्दा जिल्ला अदालत काठमाडौंमा दायर गरेकी थिइन् ।

न्यायाधीश शिशिरराज ढकालले शरदको एक तिहाइ सम्पत्ति (३ भागको १ भाग) निशाले पाउने फैसला सुनाएका छन् । अंश प्राप्त नहुञ्जेलसम्म शरदले निशालाई मासिक ४१ हजार रुपैयाँ भरणपोषण खर्च उपलब्ध गराउनुपर्ने फैसलामा उल्लेख छ ।

यद्दपी शरद र निशाबीच सम्बन्धबिच्छेद भएको देखिँदैन । कानूनअनुसार कुनै पनि विवाहित महिलाले श्रीमानसँग डिभोर्स नगरीकन पनि अंश वा माना चामलको मागदावी गर्न सक्छिन् ।

शरद र निशाको विवाह २०७४ असार १६ गते भएको थियो । उनीहरूले २०७५ साल जेठ ३ गते पहिलो सन्तानका रूपमा पुत्र लाभ गरेका थिए ।