गैरकानूनी रुपमा विदेश जानेलाई पनि फर्काउन संसदीय समितिको निर्देशन

असोज १४, काठमाडौं ।
संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गैरकानूनी बाटोबाट विदेश गएका नेपालीहरुलाई पनि उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । सरकारले हाल वैध तरिकाबाट विदेश गएकालाई मात्र प्राथमिकता दिइरहेको छ ।

विदेशमा अप्ठेरोमा परेका नेपाली उद्धार गर्दा गैरकानुनी बाटोबाट गएकाहरूलाई पनि तत्काल उद्धार गर्न संसदीय समितिले निर्देशन दिएको हो । समितिले गैरकानुनी बाटोबाट विदेश पठाउने व्यक्ति र संस्थालाई मानव ओसारपसार सम्बन्धी प्रचलित कानुन बमोजिम कडा कारबाही गर्न गृह, श्रम र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले एकचोटी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरु जुनसुकै कारणले विदेशमा अलपत्र परे पनि वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी स्वदेश फर्काउन पनि निर्देशन दिएको हो । यसका लागि ‘स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका २०७७’ लाई संशोधन गर्न समेत निर्देशन दिइएको छ ।

साथै विदेशबाट नेपाली फर्काउन उडान संख्या थप्नुपर्ने समितिको भनाइ छ । मंगलबार बसेको समिति बैठकले स्वदेश फर्कन चाहने सबै नेपालीहरुलाई सुरक्षित तवरबाट नेपाल ल्याउन र त्यसका लागि नियमित उडान संख्या थप्न सरकारलाई भनेको हो ।

नेपाली कामदार रहेका विभिन्न देशस्थित नेपाली राजदूतहरुले पनि नियमित उडान संख्या थप्न माग गर्दै आएका छन् । उडान संख्या थप्ने विषयमा परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग समन्वय गरी निर्णय लिन समितिले निर्देशन दिएको हो ।

कुटनीतिक नियोगहरुमा प्राप्त सूचनाका आधारमा समस्यामा परेका नेपालीहरुको उद्धार गर्ने कार्य प्रभावकारी बनाउन कुटनीतिक नियोगहरुमा पर्याप्त कर्मचारी र साधन स्रोतको व्यवस्था गर्न पनि समितिले परराष्ट्र र श्रम मन्त्रालयलाई भनिएको छ ।