विराटनगर र धरानमा गरी दुई कोरोना संक्रमितको मृत्यु

असोज १४, विराटनगर ।
कोरोना संक्रमित दुई जनाको विराटनगर र धरानमा मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा मोरङका ६० वर्षिय पुरूषको मृत्यु भएको छ ।

उनको बुधबार बिहान ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । असोज ४ गत्ते अस्पतालमा भर्ना लिइएको उनलाई पछिल्लो आठ दिन यता भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनी श्वासप्रश्वास, उच्च रक्तचाप, मधुमेह, मोटोपन जस्ता समस्याबाट ग्रसित थिए । अवस्था नाजुक भएपछि उनलाई रेमडिसिभर पनि चलाइएको अस्पतालको भनाइ छ ।

यसैगरी राजविराजका ३९ वर्षिय एक पुरूषको पनि संक्रमणका कारण ज्यान गएको छ । धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार बिहान ३ बजे उनको मृत्यु भएको हो । उनी असोज ९ मा उक्त अस्पतालमा भर्ना भएका थिए । मधुमेह र उच्च रक्तचापका साथै ती व्यक्तिमा मृगौलाको समस्या पनि देखिएको थियो ।