असोज १४, चितवन ।
जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । पक्राउ पर्नेमा सेनाका हुद्दा पदमा कार्यरत चिरणबहादुर बुढा छन् ।
उनलाई पक्राउ गरी आवश्यक छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले बताए । राप्ती नगरपालिका २ का २४ वर्षीय राजकुमार चेपाङको कुटपिटपछि गत साउन ८ गते मृत्यु भएको थियो ।
यही घटनामा बुढालाई अदालतबाट म्याद थप गरी बयान लिने र थप अनुसन्धान भइरहेको छ । मृतक राजकुमारका बुबा विष्णुलाल चेपाङले भदौ २५ गते किटानी जाहेरी दिएका थिए । आरोपीले मौखिक बयानमा घटना आफूले नगराएको बताएकाले पोलिग्राफ परीक्षणसमेत गर्ने तयारी प्रहरीको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सेनाद्वारा कुटपिटपश्चात चेपाङको मृत्यु भएको आरोप लगाइएको छ । राजकुमारसहित सात जनालाई साउन १ गते निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए । सेनाले निकुञ्जमा प्रवेश गरेका सात जनामध्ये दुई महिलाबाहेक पाँच जना पुरूषलाई कुटपिट गर्नुका साथै यातना दिएको र महिलालाई अपशब्द बोल्दै दुव्र्यवहार गरेको पीडितहरुले आरोप लगाएका छन् ।
राप्ती नगरपालिका–२, मिलनटोलका २३ वर्षीय पूर्ण चेपाङ, ३२ वर्षीय सन्तलाल प्रजा, ३२ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय गोपीराम प्रजामाथि समेतलाई कुटपिट भएको थियो । छुटेर आएदेखि बिरामी भएका राजकुमारको स्थानीय मेडिकलमा उपचार गराइरहेका थिए । मेडिकलको उपचारले निको नभएपछि भरतपुर अस्पताल ल्याइएकामा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।







