असोज, १४ काठमाडौं । किसानहरुको एक समूहले बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहरीमन्त्री तथा सचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छन् ।
किसानलाई दिने अनुदानमा घोटाला गरेको भन्दै किसानहरुको समूहले मन्त्री, सचिव र निर्देशकहरुविरुद्ध आज अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।
कृषिमन्त्री दावा दोर्जे लामा, सचिव डा. योगेन्द्रबहादुर कार्की, मत्स्य तथा पशु निर्देशक डा. हरिकुमार रघुविर श्रेष्ठ, कृषि सेवा निर्देशनालयका निर्देशक रविन्द्रबहादुर प्रधान समेतले विगत दुई वर्षदेखि किसानका लागि दिने अनुदानहरुमा घोटाला गरेको आरोप उजुरीमा छ ।
विभिन्न २० कम्पनीसँग महंगोमा सामान खरिदको ठेक्का सम्झौता गरेर राज्यलाई नोक्सान पुर्याएको भन्दै उजुरीमा घोटालाबारे गम्भीर छानविन गर्न माग गरिएको छ ।










