असोज १५, काठमाडौं ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बलात्कारका घटनामा मेलमिलाप गराउनेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार समितिले यस्तो निर्देशन दिएको हो ।
समितिले बझाङकी सम्झना कामीलगायत विभिन्न जिल्लामा भएका बलात्कारका घटना बारेमा गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँग छलफल गरेको थियो । ‘बलात्कारको घटनामा मेलमिलाप गराउने र त्यसको मध्यस्तकर्ताको भूमिका खेल्ने जो कोहीलाई उक्त घटनाको मतियारको रुपमा कारवाही गर्ने,’ समितिले दिएको निर्देशनमा उल्लेख छ ।
बझाङ, सप्तरी, बारा, कैलाली, बर्दिया, धनुषा, कञ्चनपुरलगायतका जिल्लामा भएका बलात्कारका घटनामा संलग्न जो कोहीलाई हदैसम्मको कानुनी सजाय र पीडितलाई न्यायसहितको उचित क्षतिपूर्ति दिने व्यवस्था मिलाउन समितिले सरकारलाई निर्देशन दिएको हो ।
बलात्कारको अनुसन्धानमा संलग्न प्रहरीको पनि अनुसन्धान गर्ने व्यवस्था मिलाउन, यस्ता घटनाको तत्काल परीक्षण गर्न सकिने प्रविधिसहितको उपकरणहरु प्रत्येक जिल्लाहरुमा उपलब्ध हुने व्यवस्था मिलाउन पनि समितिले सरकारलाई भनेको छ ।
समितिले दिएको निर्देशनमा यस्ता घटनामा उल्टै पीडितलाई नै समाजमा अभद्र एवं अमानवीय व्यवहार गरिने हुँदा उनीहरूलाई ससम्मान जीवनयापन गर्न पाउने व्यवस्था मिलाउन समेत भनिएको छ ।
पछिल्लोपटक केन्द्रीय कार्यालयमा कैद जीवन भुक्तान गरिरहेका कैदी रामलखन जैसवालको मृत्युको छानबिन गर्न समेत सरकारलाई निर्देशन दिइएको छ ।







